काठमाडौँ । यती एयरलाइन्समा नयाँ साझेदार भित्रिएको एक वर्ष नहुँदै भाडभैलो सुरु भएको पाइएको छ । २०८० को असोज अन्तिममा एकल स्वामित्वमा सञ्चालित यती एयरलाइन्समा ४९ प्रतिशत सेयर स्वामित्व लिएर भित्रिएको थियो एसियन लाइफ इन्स्योरेन्स कम्पनी ।
कम्पनीको आधाभन्दा कम सेयर स्वामित्व लिएर भित्रिएको इन्स्योरेन्स कम्पनीले धेरै स्वामित्व भएर कम्पनीमा एकलौटी गर्न थालेपछि विवाद सुरु भएको हो ।
इन्स्योरेन्स कम्पनी भित्रिएसँगै एयरलाइन्समा व्यवस्थापन परिवर्तन गरिएको थियो । यतीले तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुज रिमाललाई हटाएर सुवास सापकोटालाई सीईओको जिम्मा दिईएको थियो । पेसाले चार्टर्ड एकाण्टेन्ट उनी इसेवाका सीईओ थिए ।
इसेवा छोडेर यती एयरलाइन्सको सीईओको रुपमा भित्र्एिका उनीमाथि सोचेअनुसारको प्रतिफल दिन नसकेको आरोप लागेको छ ।
यतीले उनीमाथि साझेदार भित्रिएको ६ महिनाभित्र आईपीओ जारी गर्ने तयारी र थप ५ वटा एटीआर ७२ सिरिजका जहाज किन्ने तयारी गर्ने जिम्मेवारी दिएको थियो । नयाँ साझेदार भित्रिएपछि २ थान जहाज खरिद गर्ने बाहेक बाँकी काम हुन सकेको छैन् ।
पछिल्लो समय २ थान जहाज भित्रिएसँगै कम्पनीसँग भएका २ थान जहाज ग्राउण्डेड भएको पाइएको छ । नयाँ ल्याउने योजना अनुसार ३ जहाज नआउँदै भएका २ जहाज समेत ग्राउण्डेड हुँदा शेर्पा समूह रुष्ट बनेको पाइएको हो ।
सुम्पिएको काम पूरा नहुनुदेखि नयाँ भित्रिएको व्यवस्थापन टिमले पूराना टिमलाई वेवास्ता गर्नेदेखि आफूखुशी काम गर्न थालेपछि शेर्पा समूह रुष्ट बन्न थालेको हो ।
यती एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको २०७५ साल फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेर निधन नभएसँगै कम्पनीमा समस्या आउन थालेको थियो । शेर्पाको निधनअघि एयरलाइन्स उनकै जिम्मामा सञ्चालित थियो ।
सञ्चालकको अकस्मात निधन भएपछि गम्भीर आर्थिक संटक व्यहोरेको कम्पनीमाथि पोखरामा भएको ठूलो दुर्घटनाले थप समस्या थपिएको थियो ।
२०७९ माघ १ गते काठमाडौँदेखि पोखराका लागि ६८ जना यात्रु बोेकेर उडान गरेको यतीको एटिआर ७२ जहाज पोखरा विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको थियो । ६८ जनाकै निधन हुनेगरी भएको उक्त दुर्घटनापछि यएरलाइन्स गम्भीर आर्थिक संकटमा धकेलिएको थियो ।
पोखरा दुर्घटनापछि यात्रुको विश्वास जित्न र आर्थिक संकटलाई मध्यनजर गर्दै यति होल्डिङ्सले यति एयरलाइन्सको ४९ प्रतिशत सेयर बेचेर १ अर्ब ७५ करोड रुपैयाँसँगै नयाँ लगानीकर्ता भित्र्याएको थियो ।
उक्त लगानी भित्रिएसँगै कम्पनीले हाल उडान गर्दै आएको ७२ सिट क्षमताको एटिआर जहाज समेत भित्र्याइसकेको छ ।
लगानीकर्ता भित्रिएसँगै नयाँ जहाज भित्र्याएको कम्पनीले त्यसयता खासै केही गर्न सकेको छैन् । नयाँ लगानीकर्तासँग रुष्ट बनेको शेर्पा समूहले इन्स्योरेन्स कम्पनीलाई हटाउने तयारी थालेको छ ।
१० थप नयाँ जहाज भित्र्याएर आन्तरिक उडानमा आक्रामक उडान भर्ने योजना अनुसार रणनीतिक साझेदार भित्रिएको एयरलाइन्समा हाल ७ वटा जहाज रहेका छन् । तर, २ वटा जहाज लामो समयदेखि ग्राउण्डेड छन् ।
सुरुवाती चरणमा सबैभन्दा धेरै जहाज भएको एयरलाइन्स बनेको यतीको हाल बजार हिस्सा २५ प्रतिशतभन्दा कम छ ।
हाल ६० प्रतिशतभन्दा बढी बजार हिस्सा बुद्ध एयरको रहेको छ । बुद्धले १८ वटा एटिआर जहाजबाट विभिन्न गन्तव्यमा उडान गर्दै आएकोे छ ।

