काठमाडौँ । साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तनमा सक्रिय संस्था ‘साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपाल’ले नयाँ नेतृत्व पाएको छ ।
बुधबार सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सूचना प्रविधिविज्ञ डा. शालिग्राम पराजुलीको अध्यक्षतामा नयाँ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्राध्यापक गजेन्द्र शर्मा, उपाध्यक्षहरूमा विजय कुमार रोय, राजकुमार महर्जन र डा. अमृता शर्मा चयन भएका छन् । महासचिवमा डा. भोजराज घिमिरे निर्वाचित भएका छन् भने सचिवहरूमा सरला कार्की, आभास अधिकारी, गंगा भण्डारी र तेजप्रसाद धमला चयन भएका हुन् । कोषाध्यक्षको जिम्मेवारी कमला अधिकारी अर्यालले पाएकी छिन् ।
त्यस्तै सदस्यहरूमा रिता पोखरेल, जयन्ती माला चापागाईँ, डा. शान्तिकला सुवेदी र ओमकार बस्नेत छन् । संस्थाको पहिलो बैठकले कार्यसमितिमा थप तीन जना थप्ने जनाइएको छ ।
सो अवसरमा संस्थाको प्रेसिडेन्ट काउन्सिल समेत गठन गरियो । काउन्सिलमा संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा निवर्तमान अध्यक्ष प्रा.ड.। सुवर्ण शाक्य र वर्तमान अध्यक्ष शालिग्राम पराजुली (सदस्य(सचिव) रहेका छन् । त्यस्तै सल्लाहकार समितिमा चिरञ्जीवी अधिकारी, प्रा.डा. सुवर्ण शाक्य, रोजाकिरण बासुकला र भीमध्वज श्रेष्ठ छन्।
साधारणसभामा महासचिवको वार्षिक प्रगति प्रतिवेदन तथा लेखा समितिको आर्थिक प्रतिवेदनमा छलफल गरी पारित गरिएको थियो ।
दुई दशकभन्दा लामो समयदेखि नेपालको सूचना प्रविधि क्षेत्रलाई योगदान दिनुभएका नवनिर्वाचित अध्यक्ष डा. शालिग्राम पराजुलीले साइबर सुरक्षा क्षेत्रमा नेपाललाई सशक्त बनाउन कार्ययोजना अघि बढाइएको बताए । उनले शैक्षिक संस्थाहरू, उद्योग क्षेत्र तथा सरकारी निकायहरूसँग सहकार्य गर्दै साइबर सुरक्षा सम्बन्धी अनुसन्धान, नीति निर्माण तथा जनचेतना अभिवृद्धि गर्ने योजना प्रस्तुत गरे ।
“नेपालमा प्रविधिको तीव्र विकास भइरहँदा साइबर सुरक्षामा अझै धेरै गर्नुपर्ने छ । हाम्रो उद्देश्य भनेको नेपाललाई साइबर सुरक्षाको क्षेत्रमा अग्रणी बनाउनु हो । यसका लागि सीएसआरआई नेपालले अन्य सरोकारवालासँग सहकार्य गरी अनुसन्धान, नीति निर्माण र जनचेतना कार्यक्रममार्फत डिजिटल सुरक्षालाई बलियो बनाउनेगरी कार्यक्रम ल्याउने छौँ,” सञ्चार तथा सूचना प्रविभि मन्त्रालयका आईटी विज्ञसमेत रहनुभएका अध्यक्ष डा. पराजुलीले भने ।
उनले सीएसआरआईको अगुवाइमा साइबर सुरक्षा सम्बन्धी पूर्वाधार निर्माण, जनचेतना कार्यक्रम, नीति निर्माणमा सहकार्य तथा अनुसन्धान प्रवर्द्धन गर्ने लक्ष्य रहेको उल्लेख गरे ।
संस्थाका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीले सीएसआरआईले स्थापनाकालदेखि नै शैक्षिक अनुसन्धान र उद्योग क्षेत्रको आवश्यकताबीचको खाडल पुर्ने, नवीन समाधानहरू विकास गर्ने र वास्तविक सुरक्षाका चुनौतीहरू समाधान गर्न काम गरिरहेको जानकारी दिए ।
नवनिर्वाचित सचिव सरला कार्कीले सीएसआरआई र कोरियास्थित इन्फर्मेसन टेक्नोलोजी एप्लिकेसन्स एन्ड म्यानेजमेन्ट (आईटीएएम) सोसाइटी बीच सहकार्य हुने सम्भावना रहेको जानकारी दिँदै उक्त समझदारीले अनुसन्धान र नवप्रवर्तनमा सहयोग पुग्ने धारणा व्यक्ति गरिन ।

