काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएदेखि नाफामा गएको प्राधिकरणले सरकारलाई बुझाउनुपर्ने बक्यौता झन्डै चार खर्ब रहेको पाइएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक अनुसार प्राधिकरणले सरकारलाई ऋण र भाखा नाघेको ऋण गरी ३ खर्ब ९३ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको पाइएको हो ।
तथ्यांक अनुसार प्राधिकरणमा मात्रै सरकारको २ खर्ब ६९ अर्ब ४८ करोड रुपैयाँ ऋण लगानी भएको छ । यस्तै, प्राधिकरणपछि दोस्रोमा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको ५२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।
ऋण लगानीसँगै भाखा नाघेको ऋण मात्रै१ खर्ब २४ अर्ब ४ करोड रुपैयाँभन्दा बढी ऋण रहेको छ ।
प्राधिकरणमा कुलमान भित्रिएसँगै ८ वर्षदेखि नाफामा गएको छ । ८ वर्षदेखि अर्बाेँ नाफामा गएको भन्दै तथ्यांक सार्वजनिक भैरहँदा प्राधिकरणले भने सरकारलाई बुझाउनुपर्ने ऋणको सावाँ ब्याज समेत भुक्तानी गरेको छैन् ।
बक्यौता रकमसँगै प्राधिकरणले सरकारलाई तिर्नुपर्ने कर समेत भुक्तानी गरेको छैन् । लामो समयसम्म घाटामा रहेको रकम पूर्तिगर्न भन्दै सरकारलाई कर बापतलाग्ने कुनै कर भुक्तानी नगरेको प्राधिकरणले ऋण समेत नतिरेको पाइएको हो ।
पटक/पटक ताकेता गर्दा पनि सार्वजनिक संस्थानले बक्यौता रकम भुक्तानीमा आनाकानी गर्नेगरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख गोपीकृष्ण कोइरालाले बताए ।
उनले भाखा नाघेको ऋणको बक्यौता रकम भुक्तानीमा समेत संस्थानहरुले वेवास्त गर्नेगरेको बताए ।
पटक पटकको ताकेतापनि विद्युत प्राधिकरणले गत माघ महिनामा १ अर्ब बक्यौता रकम भुक्तानी गरेको उनले बताए । माघमा १ अर्ब भुक्तानी गरेको प्राधिकरणले फागुनमा पत्र पठाउँदै ऋण पुनर्तालिकीकरण गर्न अनुरोध गरेको उनले बताए ।
सार्वजनिक संस्थान तथा निकायमा मात्रै सवा ८ खर्ब ऋण
ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सार्वजनिक संस्थान तथा निकायहरुमा मात्रै सवा आठ खर्ब बढी ऋण लगानी भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ सम्म विभिन्न १५० वटा संस्थान तथा निकायहरुमा शेयरतर्फ ३ खर्ब ९५ अर्ब १९ करोड ३४ लाख ५१ हजार रुपैयाँ र ऋण तर्फ ४ खर्ब ३२ अर्ब ३२ करोड ७७ लाख ८६ हजार रुपैयाँ गरी ८ खर्ब २७ अर्ब ५२ करोड १२ लाख रुपैयाँभन्दा बढी लगानी रहेको छ । कुल लगानीमध्ये शेयरमा ४८ प्रतिशत र ऋणमा ५२ प्रतिशत सरकारी लगानी रहेको छ ।
तथ्यांक अनुसार सबैभन्दा बढी शेयर लगानी नेपाल विद्युत प्राधिकरणमा रहेको छ । प्राधिकरणमा १ खर्ब ८१ अर्ब ३३ करोड २ लाख रुपैयाँ लगानी हुँदा नेपाल नागरिक उडड्यन प्राधिकरणमा ६२ अर्ब ७४ करोड १७ लाखभन्दा बढी लगानी रहेको छ ।
विद्युत प्राधिकरणमा मात्रै सरकारको ४६ प्रतिशत लगानी रहेको छ ।
अर्बौँ नोक्सानीमा रहेको प्राधिकरण कसरी गयो कुलमान आएपछि नाफामा ?

