काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले केही हतियार फिर्ता नआएको र केही कैदी फरार रहेको आधारमा फागुन २१ गतेका लागि तोकिएको चुनावबारे अनावश्यक शंका र भ्रम नफैल्याउन आग्रह गरेका छन्। सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा बोल्दै उनले सरकार निर्धारित मितिमै भयमुक्त, स्वच्छ र स्वतन्त्र वातावरणमा निर्वाचन गराउन पूर्णतः प्रतिबद्ध रहेको स्पष्ट पारे।
उनका अनुसार देशभर ४,५५२ फरार कैदीमध्ये जघन्य अपराधमा संलग्नहरूको संख्या न्यून रहेको छ भने ७२७ थान हतियार सरकारले फिर्ता गराइसकेको छ। भदौ २३–२४ का घटनापछि सुरक्षा संयन्त्रको नियमित कार्य प्रभावित भए पनि अवस्था क्रमशः सामान्य बन्दै गएको उनले बताएका छन्।
गृहमन्त्री अर्यालले सुशासन, विधिको शासन र भ्रष्टाचारविरुद्ध सरकार शून्य सहनशीलतासहित अघि बढेको उल्लेख गर्दै भने, “हामी कसैलाई काखा–पाखा गर्दैनौँस सबैका कुरा सुन्दै जानेछौँ। यो सरकार सबैको साझा सरकार हो।”
चुनावी तयारीका क्रममा देखिएका मनोवैज्ञानिक चुनौतीका बाबजुद सरकारले कानून कार्यान्वयनमा दृढतापूर्वक काम गरिरहेको मन्त्री अर्यालको भनाइ थियो। “अराजकतालाई नियन्त्रण गर्न प्रतिवद्ध छौँ। सुरक्षा वातावरणका हरेक चुनौतीमा ढुक्क हुन आग्रह गर्दछु,” उनले भने।
सुरक्षा निकायप्रतिको मनोबल घटाउने खालका टिप्पणीबाट बच्न आग्रह गर्दै उनले सरुवा–बढुवामा निष्पक्षता अपनाइएको र सुरक्षा संयन्त्रलाई हस्तक्षेपविहीन, व्यावसायिक वातावरणमा कार्य गर्न सुनिश्चित गरिने बताए।
गोष्ठीमा सहभागी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पनि राज्यका सबै शक्ति एकीकृत भएर निर्वाचनको वातावरण बनाउन जुटेको बताए। “सुरक्षा फौज नै देशको अन्तिम भरोसा हो,” मुख्यमन्त्री शाहले भने।

