काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रस्टाचार मुद्दा दायर गरेसँगै नेपाल नागरिक उडड्यन प्राधिकरणका अधिकांश कर्मचारी निलम्बीत भएका छन् । अख्तियारले आइतबार पाँच जना पूर्वमन्त्री र १० जना पूर्वसचिव सहित ५५ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
आरोपीसँग अख्तियारले प्रत्येकसँग ७४ लाख ३४ हजार ३ सय ४५ अमेरिकी डलर बिगो माग गरेको छ। अमेरिकी डलरलाई आइतबारको विनिमयदरअनुसार नेपाली रुपैयाँमा पनि उल्लेख गरिएको छ । अख्तियारले दाबी गरेको अमेरिकी डलर बराबर नेपाली रुपैयाँ जनही ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ पर्न आउँछ ।
आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल महाप्रबन्धक विहीन भएको हो । क्यानको १२ औँ तहमा कार्यरत टिआईएका महाप्रबन्धक हशंराज पाण्डे तथा ११ औँ तहका सिनियर कर्मचारी बाबुराम पौडेल भैरहवा अन्र्तराष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक थिए ।
यस्तै, टीआईए र भैरहवाका जीएम भैसकेका क्यानका १२ औँ तहका सिनियर कर्मचारी प्रतापवावु तिवारी समेत मुद्दा दर्ता भएसँगै निलम्बीत भएका छन् । क्यानका महानिर्देशक प्रदीप अधिकारी निलम्बित भएसँगै क्यानको महाप्रबन्धक बन्न दौडधुप गरेका तिवारी आइतबार आफै निलम्बीत भएका हुन् ।
शुक्रबार पर्यटन मन्त्रालयले अर्काे व्यवस्था नहुँदासम्मका लागि मन्त्रालयका सहसचिव मुकेश डंगोललाई जिम्मेवारी दिएसँगै तिवारी आफुनै महानिर्देशक बन्नुपर्ने भर्ने पर्यटन सचिवदेखि प्रधानमन्त्री शुशीला कार्कीसमक्ष उजुरी लिएर पुगेका थिए । तर, कार्कीले डंगोललाई जिम्मेवारी अडानबाट पछि नहट्ने निर्णय गरेसँगै उनी कर्मचारी युनियनलाई उनको नियुक्ती बदर गर्दा दबाब दिएका थिए ।
यस्तै पोखरा विमानस्थल निर्माण प्रकरणमा तीन जनासँगै क्यान बोर्ड सदस्य रोशन चित्रकार, क्यानका सिनियर कर्मचारी द्धारिका प्रसाद भट्टराई, कुल प्रसाद सिंखडा लगायतका कर्मचारी समेत निलम्बीत भएका छन् । यस्तै, हाल अन्र्तराष्ट्रिय नागरिक उडड्यन प्राधिकरण (आइकाओ) मा कार्यरत क्यानका पूर्व कर्मचारी डा पुण्यराज शाक्य, ओमनको सिभिल एभिएसनमा कार्यरत सुवर्णराज उपाध्याय समेत मुद्दा दायर भएसँगै निलम्बीत भएका छन् ।

