२०८३, आश्विन २३ गते

images
  • समाचार
  • ८ दिनपछि अरनिको राजमार्ग सञ्चालनमा, ६०...

८ दिनपछि अरनिको राजमार्ग सञ्चालनमा, ६० दिनभित्र काम सुरु नगरे पुनः बन्द गर्ने चेतावनी

८ दिनपछि अरनिको राजमार्ग सञ्चालनमा, ६० दिनभित्र काम सुरु नगरे पुनः बन्द गर्ने चेतावनी

आइतवार, मंसिर २८ २०८२१०:३६
आइतवार, मंसिर २८ २०८२१०:३६
  • images

    काठमाडौं । स्थानीयवासीको अवरोधका कारण ८ दिनदेखि बन्द रहेको अरनिको राजमार्ग शनिबार बेलुकादेखि पुनः सञ्चालनमा आएको छ । कोदारीस्थित इको पहिरो क्षेत्रमा सडक निर्माण र पहिरो नियन्त्रणको माग गर्दै मंसिर २० गतेदेखि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।

    बाढी र पहिरोका कारण बस्ती उच्च जोखिममा परेको भन्दै स्थानीयले सडक सञ्चालनमा रोक लगाएका थिए । यसका कारण नेपाल–चीन नाका समेत ८ दिनसम्म पूर्ण रूपमा बन्द भएको थियो ।

    गत असोज २ गते स्थानीयवासी, सडक विभाग तथा सडक डिभिजन कार्यालय चरिकोटबीच कात्तिक महिनाभित्र राजमार्ग निर्माण र पहिरो नियन्त्रणका लागि टेन्डर निकाल्ने सहमति भए पनि समयमै प्रक्रिया अघि नबढेपछि स्थानीय आन्दोलित भएका हुन् ।

    शुक्रबार दिउँसो स्थानीय र सडक डिभिजन कार्यालय चरिकोटबीच भएको वार्ता तत्काल काम सुरु गर्ने विषयमा सहमति नजुट्दा असफल भएको थियो । त्यसपछि सडक डिभिजन कार्यालय चरिकोटले ४८ करोड ४९ लाख रुपैयाँ लागतको टेन्डर आह्वान गरेको जनाएको छ । टेन्डर प्रक्रियाका लागि ३५ दिन समय लाग्ने बताइएको छ ।

    सडक डिभिजन कार्यालयले टेन्डर आह्वानको सूचना प्रकाशित गरेपछि शनिबार स्थानीय पालिका, स्थानीयवासी तथा यातायात व्यवसायी प्रतिनिधिबीच भएको छलफलपछि स्थानीय आफैंले राजमार्ग खुलाएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगत राईले जानकारी दिए ।

    तर, स्थानीयले अबको ६० दिनभित्र सडक निर्माण कार्य सुरु नगरे पुनः इको पहिरो क्षेत्रबाट राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

    सडक सञ्चालनमा आएपछि सीमा क्षेत्रमा रोकिएका कन्टेनर तथा इभी गाडीहरू भन्सार यार्डतर्फ जान थालेका छन् । सडक बन्द हुँदा फलफूललगायत सामग्री कुहिएर ठूलो क्षति भएको व्यवसायीहरूले बताएका छन् ।

    स्थानीयले यसअघि ‘वार्षिक २० अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन हुने नाकालाई राज्यले बेवास्ता गरेको’ आरोप लगाउँदै दिगो समाधानको माग गरेका थिए । इको पहिरोका कारण गुम्बाडाँडा, मिलन बजार, लालबिर चोक, चौकीडाँडा, कोदारी गुम्बा, कुदुङ, ताक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार र तामाङ गुम्बा गाउँ उच्च जोखिममा रहेको स्थानीयको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend