काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। काठमाडौँको भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा सोमबार अपराह्न पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी दिएका हुन्। उम्मेदवारीपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले पार्टीलाई विधि, पद्धति र सामूहिक नेतृत्वको आधारमा सुदृढ ढंगले सञ्चालन गर्ने उद्देश्यसहित आफू अध्यक्ष पदको उम्मेदवार बनेको स्पष्ट पारे।
उनले एमालेको सांगठनिक, वैचारिक तथा कार्यशैलीगत पुनःव्यवस्थापन अहिलेको आवश्यकता भएको उल्लेख गरे। पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक र सकारात्मक हुने बताउँदै पोखरेलले जनताको बहुदलीय जनवादद्वारा निर्देशित पार्टीमा स्वस्थ प्रतिस्पर्धालाई अस्वाभाविक रूपमा लिन नहुने धारणा राखे। ‘थप राम्रो गर्नका लागि उम्मेदवारी दिएको हुँ, यसमा अन्य कुनै उद्देश्य छैन,’ उनले भने।
पोखरेलले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई पार्टीलाई आधुनिक आवश्यकताअनुसार अपडेट गर्दै संगठनात्मक र वैचारिक रूपमा अझ बलियो बनाउन एकजुट हुन आग्रह गरे। अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार बन्ने तयारीमा छन्। निर्वाचन कार्यक्रमअनुसार सोमबार उम्मेदवारी दर्ता हुँदैछ भने साँझ अन्तिम नामावली सार्वजनिक गरिनेछ र भोलि मतदान हुनेछ।

