काठमाडौँ । भारतबाट कक्षा १० उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत एसएसपी गिरीविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरिएको अख्यितारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए। एसएसपी गिरीले भारतको पटनाबाट कक्षा १० उत्तीर्ण गरेको भनेर नक्कली प्रमाणपत्र लिएको अख्तियारको आरोप छ।
अख्तियारले अदालतमा पेश गरेको आरोपपत्रमा सन् १९८८ मा गिरीले पटनाबाट कक्षा १० उत्तीर्ण गरेको प्रमाणपत्र लिएका थिए। त्यसकै आधारमा २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट नर्सिङ पढेको अख्तियारको भनाइ छ। त्यस्तै, उनले २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट बीएन गरेका थिए।
उनी २०५२ सालमा प्रहरी नायव निरीक्षक (प्राविधिक) पदमा भर्ना भएका थिए। त्यसपछि तिनै शैक्षिक प्रमाणपत्र पेश गरेर एसएसपीसम्म बढुवा भएको अख्तियारको आरोप छ।
उनले २०५० सालमा पीसीएल नर्सिङ र २०६३ सालमा पोस्ट बेसिक ब्याचलर इन नर्सिङ गरेका थिए । उनी १६ पुस २०५२ मा प्राविधिक सईको रुपमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेक थिए ।
उनी अनिवार्य अवकाश पाउन जम्मा जम्मी एक सातामात्रै बाँकी थियो । उनी उही पुस १५ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदै थिए ।

