२०८३, आश्विन २२ गते

images
  • समाचार
  • शनिबारदेखि भृकुटीमण्डपमा घर निर्माण फेस्ट शुरु...

शनिबारदेखि भृकुटीमण्डपमा घर निर्माण फेस्ट शुरु हुँदै, १५० भन्दा बढी स्टल

शनिबारदेखि भृकुटीमण्डपमा घर निर्माण फेस्ट शुरु हुँदै, १५० भन्दा बढी स्टल

शुक्रवार, पौष ११ २०८२०७:३८
शुक्रवार, पौष ११ २०८२०७:३८
  • images

    काठमाडौँ । घर निर्माण क्षेत्रलाई आधुनिक प्रविधि, किफायती समाधान, गुणस्तरीय निर्माण सामग्री तथा नवीन डिजाइनसँग जोड्ने उद्देश्यका साथ घर निर्माण फेस्ट २०८२ आयोजना हुने भएको छ। 

    आयोजकले पत्रकार सम्मेलन आयोजना गर्दै फेस्टको औपचारिक उद्घाटन पुस १२ गते दिउँसो १२ बजे हुने जानकारी दिएको हो । 

    आयोजकका अनुसार निर्माण क्षेत्रमा संलग्न सम्पूर्ण सरोकारवालालाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्यसहित फेस्ट आयोजना गर्न लागिएको हो। फेस्टमा लाख रुपैयाँमै निर्माण गर्न सकिने घर, कम लागतका आवास, आर्थिक भिल्ला, फ्ल्याट तथा साना बजेटमा आधुनिक र वैकल्पिक आवासीय अवधारणाहरू प्रस्तुत गरिनेछ।

    घर निर्माणसँग सम्बन्धित सामग्री, प्रविधि, डिजाइन, सेवा तथा समाधानहरू प्रस्तुत गर्न १५० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। बढ्दो निर्माण तथा व्यावसायिक गतिविधिका बीच स्वदेशी ब्रान्डहरूलाई आफ्ना उत्पादन र सेवा प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर सिर्जना गर्न फेस्ट महत्वपूर्ण हुने विश्वास लिइएको छ।

    फेस्टमार्फत २ सय करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। प्रदर्शनीलाई विशेष र ऐतिहासिक बनाउन विश्व प्रख्यात इटालियन डिजाइनरको सहयोगमा विश्वकै सबैभन्दा ठूलो ढाका टोपी प्रदर्शनी समेत आयोजना गरिनेछ, जसले नेपाली कला, संस्कृति र निर्माण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।

    युवा पुस्ताको सहभागितालाई प्राथमिकता दिँदै फेस्टमा ५० भन्दा बढी कलेजका विद्यार्थी टोलीहरूबीच मोडल प्रतियोगिता आयोजना गरिनेछ। यस प्रतियोगिताले विद्यार्थीहरूलाई सिर्जनशीलता, नवप्रवर्तन र प्राविधिक क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ।

    चार दिनसम्म चल्ने फेस्ट अवधिभर विभिन्न विषयमा आधारित अन्तरक्रिया सत्रहरू सञ्चालन गरिनेछन्। आयोजकका अनुसार करिब ४० हजार दर्शकले फेस्ट अवलोकन गर्ने अपेक्षा गरिएको छ।

    फेस्टको पहिलो र दोस्रो दिन घर नक्सा, निर्माण सामग्री र डिजाइनसम्बन्धी विशेष अफर उपलब्ध हुनेछन् भने तेस्रो दिनदेखि नयाँ प्रविधि तथा आधुनिक घर निर्माण समाधानहरू प्रदर्शन गरिनेछ। फेस्टमा निर्माण सामग्री, फिनिसिङ, पावर टुल्स, टाइल, पेन्ट, फर्निचर, इन्टेरियर डिजाइन तथा स्मार्ट होम प्रविधि क्षेत्रका प्रतिष्ठित ब्रान्डहरू सहभागी हुने जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend