काठमाडौँ ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० नेतृत्वको समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्रीसहित २७ केन्द्रीय सदस्य पाउने भएको छ। यससम्बन्धी निर्णय गर्न रास्वपाको केन्द्रीय समिति बैठक जारी छ।
आइतबार दुवै पक्षबीच भएको छलफलमा बालेन समूहलाई महामन्त्री दिने सहमति जुटेको एक पदाधिकारीले जानकारी दिएका छन्। उनका अनुसार बालेनको तर्फबाट महामन्त्रीमा सुनिल लम्साल, सहमहामन्त्रीमा भुपदेव शाह र सहप्रवक्तामा सस्मित पोखरेलको नाम प्रस्ताव गरिएको छ। ‘यही नाममा सहमति हुने सम्भावना छ,’ ती पदाधिकारीले बताए।
महामन्त्रीमा प्रस्तावित सुनिल लम्साल मेयर साहका सल्लाहकार टिमका सदस्य हुन् भने सहमहामन्त्रीमा प्रस्तावित भुपदेव शाह बालेनका स्वकीय सचिवका रूपमा कार्यरत छन्।
यसअघि आइतबार दिउँसो बसेको केन्द्रीय समिति बैठकले विवेकशील साझाबाट आएका नेताहरूलाई पार्टी संरचनामा समायोजन गरेको थियो। अब बस्ने बैठकले बालेन समूहबाट आएका नेताहरूको औपचारिक समायोजन गर्ने तयारी गरेको छ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सवा ७ बजे सुरु हुने केन्द्रीय समिति बैठकले पार्टी समायोजन, संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी महत्वपूर्ण निर्णयहरू गर्नेछ। बालेन समूहको प्रवेशसँगै रास्वपाको आन्तरिक शक्ति सन्तुलनमा नयाँ समीकरण बन्ने संकेत देखिएको छ।

