२०८३, आश्विन २२ गते

images
  • समाचार
  • चितवन–१ बाट एमालेका सुरेन्द्र पाण्डे सूचीमा...

चितवन–१ बाट एमालेका सुरेन्द्र पाण्डे सूचीमा परेनन्

चितवन–१ बाट एमालेका सुरेन्द्र पाण्डे सूचीमा परेनन्

आइतवार, पौष २० २०८२०८:२३
आइतवार, पौष २० २०८२०८:२३
  • images

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट ६ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ। तर सो सूचीमा एमालेका निवर्तमान केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको नाम समावेश गरिएको छैन।

    एमाले चितवनका अध्यक्ष कमलराज पाठकका अनुसार २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रत्यासी रहेका पाण्डेले यसपटक उम्मेदवार हुने इच्छा नजनाएकाले नाम सिफारिसमा नपरेको हो। “नेता पाण्डेले पार्टीका नेताहरूसँगको कुराकानीमा ‘जे राम्रो हुन्छ, सबैभन्दा धेरै भोट ल्याउन सक्ने मान्छेलाई उम्मेदवार बनाउनुस्’ भन्नुभयो,” पाठकले भने, “तर उहाँले आफ्नो नाम राख्नुस् भन्ने चाहना कहिल्यै व्यक्त गर्नुभएन।”

    पाठकका अनुसार यदि पाण्डेले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उम्मेदवार बन्ने इच्छा जनाएको भए नाम सिफारिस गर्न कुनै समस्या नहुने थियो। क्षेत्रीय कमिटीबाट छुटेका नाम जिल्ला कमिटीले प्रदेशमा सिफारिस गर्न सक्छ कि सक्दैन भन्ने विषयमा पार्टीभित्र थप छलफल हुने उनले बताए।

    यस्तै, एमाले चितवन क्षेत्रीय कमिटी–१ का संयोजक प्रेम दुवाडीले पनि सुरेन्द्र पाण्डेको नाम इच्छुक उम्मेदवारहरूको सूचीमा नरहेको स्पष्ट पारे। “इच्छा जाहेर गर्नेहरूको नाम मात्रै जिल्ला कमिटीमा पठाइएको हो,” उनले भने, “बैठकमा पनि कसैले उहाँको नाम प्रस्ताव गरेनन्, त्यसैले सोही अनुसार नाम सिफारिस गरिएको हो।”

    यस विषयमा प्रतिक्रिया दिँदै सुरेन्द्र पाण्डेले आफूलाई जिल्ला अध्यक्षले उम्मेदवारीबारे एकपटक पनि औपचारिक रूपमा नसोधेको बताएका छन्। उनले भने, “पार्टीका केही नेताहरूले फोन गर्नुभएको थियो। मैले सबैभन्दा उपयुक्त र लोकप्रिय पात्रलाई सिफारिस गर्नुस् भनेको हुँ। म नेपालगञ्जमा भएकाले बैठकमा उपस्थित हुन सकिनँ।”

    पाण्डेले आफूले कहिल्यै पनि ‘मेरो नाम सिफारिस गर्नुस्’ भनेर जिल्ला वा क्षेत्रीय कमिटीलाई नभनेको स्पष्ट पारे। “पार्टीले बुझ्ने कुरा हो, जिल्ला अध्यक्षले आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने मेरो धारणा हो,” उनले भने।

    एमाले चितवन क्षेत्रीय कमिटीले सिफारिस गरेका नामहरूमा जिल्ला अध्यक्ष कमलराज पाठक, एमाले बागमती प्रदेश उपाध्यक्ष तथा पूर्वप्रदेश मन्त्री दावा दोर्जे लामा, कृष्णलाल चौधरी, किशोरचन्द्र खनाल, भरत भण्डारी र लक्ष्मी कोइराला पोखरेल रहेका छन्।

    चितवन–१ सुरेन्द्र पाण्डेले लामो समयदेखि निर्वाचन लड्दै आएको क्षेत्र हो। उनले २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट विजय हासिल गरेका थिए। एमालेले चितवन निर्वाचन क्षेत्र नम्बर २ र ३ का उम्मेदवार सिफारिस पुस २२ गते गर्ने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend