२०८३, आश्विन २२ गते

images
  • समाचार
  • सत्ता, संसद् र दम्भको हिसाब अब...

सत्ता, संसद् र दम्भको हिसाब अब जनताले गर्छन् :- रवि लामिछाने

सत्ता, संसद् र दम्भको हिसाब अब जनताले गर्छन् :- रवि लामिछाने

सोमवार, पौष २१ २०८२०७:५२
सोमवार, पौष २१ २०८२०७:५२
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकका पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै उनीहरू आफ्नै गलत निर्णय, सत्ता दुरुपयोग र दम्भका कारण खनेको खाल्डोमै पुरिन बाध्य हुने कडा चेतावनी दिएका छन्।

    सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले राज्यसत्ताको चरम दुरुपयोगले देशलाई गम्भीर संकटतर्फ धकेलेको आरोप लगाए। उनले जेन–जी आन्दोलनअघि नै सम्भावित जनआक्रोश र अस्थिरताको चेतावनी दिएको स्मरण गराउँदै त्यसलाई सत्तामा रहेका दलहरूले बेवास्ता गरेको बताए।

    “देश क्षतिको दिशातर्फ जाँदैछ भनेर हामीले पहिल्यै भनेका थियौं,” लामिछानेले भने, “तर राज्य शक्तिको दुरुपयोग गरेर यति ठूलो खाल्डो खनियो कि अब त्यसबाट उम्किने ठाउँ छैन।”

    उनले पुराना दलका नेताहरू संसद्मा संख्याको दम्भ देखाउँदै नागरिकका मुद्दा दबाउने काममा लागेको आरोप लगाए। जनताका आवाजलाई पेल्ने, हेप्ने र अपहेलित गर्ने प्रवृत्तिकै परिणामस्वरूप वर्तमान राजनीतिक अवस्था सिर्जना भएको उनको भनाइ थियो।

    लामिछानेले आफूलाई दुई घण्टामै सूचना टाँसेर संसद्बाट बाहिर निकालिएको घटनालाई स्मरण गराउँदै अहिले त्यही संसद् पुनर्स्थापनाको कुरा गर्नु राजनीतिक विडम्बना भएको टिप्पणी गरे। “जसले जबरजस्ती निकाल्यो, त्यही संसद् ब्युँताउन किन र कसका लागि ?” भन्दै उनले प्रश्न उठाए।

    उनको भनाइमा, पुराना दलका नेताहरूलाई जनताले नै जवाफ दिनेछन्। “हामीले कसैलाई पुर्ने होइन, जनताले खनेको खाल्डोमा उनीहरू आफैं पुरिने अवस्था आएको हो,” उनले स्पष्ट पारे। रास्वपाले पुरानो राजनीतिक अभ्यास, सत्ता केन्द्रित सोच र दम्भपूर्ण व्यवहारको अन्त्य नगरेसम्म देशले निकास नपाउने निष्कर्ष निकाल्दै आएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend