२०८३, आश्विन २३ गते

images
  • समाचार
  • श्रीराम ग्यास उद्योगबाट बरामद ६ हजार...

श्रीराम ग्यास उद्योगबाट बरामद ६ हजार बढी सिलिण्डर आजदेखि बजारमा, कहाँबाट हुन्छ वितरण ?

श्रीराम ग्यास उद्योगबाट बरामद ६ हजार बढी सिलिण्डर आजदेखि बजारमा, कहाँबाट हुन्छ वितरण ?

बुधवार, चैत्र ४ २०८२०७:१५
बुधवार, चैत्र ४ २०८२०७:१५
  • images

    काठमाडौँ । श्रीराम ग्यास उद्योगले लुकाएर राखेको ६ हजार बढी ग्यास सिलिण्डर आजदेखि बिक्री वितरण हुने भएको छ । 

    सोमबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारी ललितपुरको हरिसिद्धिस्थित गोदाममा लुकाएर राखेको ६ हजार तीन सय ७७ थान ग्यास भरिएको सिलिन्डर उद्योगमै सिल गरेर राखेको थियो ।

    विभागले ‘जम्माखोरी’ गरेको कसुरमा तीन लाख रुपैयाँ जरिवाना तिराउने निर्णयसमेत गरेको थियो । उद्योगका प्रतिनिधिले मंगलबार दिउँसो विभाग पुगेर जरिवानाबापतको तीन लाख रुपैयाँ भुक्तानी गरेका छन् । 

    जरिवाना बुझाएपछि विभागले आयल निगमलाई ग्यास भरिएको सिलिन्डर पारदर्शी रूपमा बिक्री–वितरण गर्न निर्देशन दिएको छ । विभागको निर्देशनपछि बुधबारबाट श्रीरामको गोदाममा रहेका ग्यास सिलिन्डर बजारमा पठाउने व्यवस्था मिलाएको आयल निगमको एलपिजी तथा एभिएसन विभाग प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए ।

    ‘वाणिज्य विभाग पुगेर उद्योगीका प्रतिनिधिले जरिवानाबापतको तीन लाख रुपैयाँ तिरेका छन् । बुधबारबाट गोदाममा भण्डारण गरी राखेको सिलिन्डर बजारमा पठाउने व्यस्था मिलाएका छौँ,’ उनले भने ।

    श्रीरामको गोदाममा पूरा तौल (१४.२ किलोग्राम) भएको ग्यास सिलिन्डिर भेटिएको थियो । जबकि आयल निगमले गत शुक्रबारदेखि आधा परिमाण (७.१ किलोग्राम) तौल भएको ग्यास सिलिन्डर मात्रै बजारमा पठाएर आपूर्ति सहज गराउन उद्योगीलाई निर्देशन दिएको थियो । बजारमा आपूर्ति असहज भएका वेला श्रीराम उद्योगले ठुलो परिमाणमा ग्यास सिलिन्डर मौज्दात राखेको पाएपछि विभागले जरिवाना तिराउने निर्णय गरेको थियो ।

    श्रीराम ग्यास उद्योगलाई सिलिन्डरसहितको मूल्य लिएर बिक्री गर्न भने बन्देज लगाइएको छ । अहिले आधा परिमाणको ग्यास मात्रै बिक्री भइरहेका वेला पूरा ग्यासको लोभमा उपभोक्तालाई महँगोमा सिलिण्डरसहित बिक्री गर्न सक्ने जोखिम रहेकाले साटफेर गर्न मात्र पाउने व्यवस्था मिलाइएको हो । त्यस्तै, अन्य ब्रान्डका सिलिन्डरसँग साटेर श्रीराम ग्यास दिन पनि बन्देज लगाइएको छ ।

    यसरी हुन्छ ६ हजार थान सिलिण्डरको बिक्री

    पूरा तौल भएको ६ हजार थान ग्यास सिलिन्डर उपत्यकामा रहेको डिलरमार्फत र बाँकी तीन सय ७७ थान सिलिन्डर आयल निगमको टेकुस्थित पुरानो कार्यालयबाट बिक्री–वितरण गर्ने निर्णय भएको छ । 

    योसहित निगमको टेकुस्थित अस्थायी डिपोबाट एचपी, राजधानी, सुगम, एभरेष्ट, त्रिवेणी र नेपाल ब्रान्डका ग्यास सिलिन्डर बिक्री भइरहेका छन् । नजिकैको डिलरकहाँ ग्यास नपाएका उपभोक्ताले टेकुस्थित आयल निगमको कार्यालयपरिसर पुगेर ग्यास खरिद गर्न सक्ने निर्देशक उपाध्यायले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend