काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्।
बैंकको २८औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनीहरूको तर्फबाट अग्रवाललाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेपछि सञ्चालक समितिले आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो।
नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
अग्रवालले नेपालको बैंकिङ तथा वित्तीय क्षेत्र, बीमा क्षेत्र र कर्पोरेट व्यवस्थापनमा लामो अनुभव हासिल गरेका छन्। उनले विभिन्न संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै मुलुकको आर्थिक विकासमा योगदान पुर्याएको बैंकले जनाएको छ।
बैंकका अनुसार अग्रवालको नेतृत्व, दूरदृष्टि र रणनीतिक सोचले एनआईसी एशिया बैंकलाई थप सुदृढ, प्रतिस्पर्धी र विश्वासिलो वित्तीय संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। बैंकले आगामी दिनमा पनि ग्राहककेन्द्रित सेवा, डिजिटल नवप्रवर्तन तथा दिगो वित्तीय विकासलाई प्राथमिकतामा राख्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

