काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा नियुक्ति लिएको र पटक–पटक बढुवा भएको आरोपमा सुमन प्रसाद तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार स्वास्थ्य निर्देशनालय, धनकुटामा खोप अधिकृतका रूपमा कार्यरत रही हाल स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका तिवारीको शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्रमाथि परेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा तिवारीले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटना (Bihar Intermediate Education Council, Patna) बाट जारी भएको भनिएको आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी खोप सुपरभाइजर, राजपत्र अनंकित प्रथम श्रेणीको पदमा नियुक्ति लिएको आयोगको आरोप छ।
उक्त प्रमाणपत्रलाई आधार बनाएर उनले माथिल्लो तहका विभिन्न पद तथा श्रेणीमा बढुवा हुनसमेत पटक–पटक पेस गरेको र त्यसबाट सरकारी पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ।
आयोगले तिवारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कारबाही गर्न मागदाबी गरेको छ। सोहीअनुसार साविक र प्रचलित कानुनी व्यवस्थाबमोजिम कैद तथा जरिवानाको सजाय माग गर्दै बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
अख्तियारले २०८३ असोज २३ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार तिवारीविरुद्धको मुद्दा विशेष अदालतमा दायर भएको हो।

