२०८३, आश्विन २१ गते

images
  • समाचार
  • अत्यधिक गर्मी र सुक्खाले धानको ब्याड...

अत्यधिक गर्मी र सुक्खाले धानको ब्याड चिरा, रोपाइँ प्रभावित हुने चिन्ता

अत्यधिक गर्मी र सुक्खाले धानको ब्याड चिरा, रोपाइँ प्रभावित हुने चिन्ता

सीएनएन खबर
आइतवार, जेठ २४ २०८३०७:०६
सीएनएन खबर
आइतवार, जेठ २४ २०८३०७:०६
  • images

    काठमाडौँ । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न थालेपछि उदयपुरका किसान चिन्तित बनेका छन् ।

    जिल्लाको त्रियुगा तथा चौदण्डी नगरपालिका क्षेत्रका किसानले रोपाइँ गर्न राखेको धानको ब्याड सुक्न थालेको छ । अति बढी तातो र खडेरीले धानको ब्याड चिरासमेत पर्न थालेको किसान बताउँछन् । ब्याडमा धानको बीउ उम्रन नसक्ने अवस्था आएकामा आफूहरू चिन्तित बनेको त्रियुगा नगरपालिका–१ जोगीदहका किसान मोहनदेव चौधरी बताउँछन्।

    त्रियुगा नगरपालिका–१३ पोर्ताहका किसान प्रेमप्रसाद दाहाल भन्छन्, “जेठ १ गते नै असार साउनमा रोपाइँका लागि धानको ब्याड राखेको, तर खडेरी बढेसँगै ब्याड नै चिरा पर्दै जान थालेका कारण धानको बीउ उम्रन नसक्ने अवस्था छ । कतै धानको बीउकै कारण असार अन्तिमदेखि साउनमा रोपाइँ गर्न समस्या हुने हो कि भन्ने चिन्ता लागेको छ ।”

    त्रिनपा–३ भुल्केको दयानाथ भट्टराईका अनुसार जेठको सुरु हप्तादेखि नै बढी गर्मीसँगै तातो र सुक्खा खडेरीले ब्याड नै चिरा पर्न थालेकाले यसपटक धानको बीउ उत्पादन गर्न समस्या हुने र समयमा रोपाइँ गर्न नसकिने हो कि भन्ने चिन्ता लाग्न बताए ।

    भुल्के क्षेत्रमा मात्र झण्डै डेढ सयभन्दा बढी धानको ब्याड रहेको र अधिकांश सुक्खाले ब्याडमा चिरा पर्न थालेकाले बिउ उम्रन समस्या देखिएको अर्का किसान कृष्णप्रसाद फूँयाल बताउँछन्। 

    यस्तै चौदण्डीगढी नगरपालिका–९ ज्यमिरेका कृषक धनपति पौडेलका अनुसार उदयपुरमा असारको तेस्रो हप्तादेखि साउनको तेस्रो हप्तासम्म रोपाइँ हुने गरेको छ । अधिकांश किसानले धानको ब्याड भने वैशाखको अन्तिम हप्तादेखि जेठको पहिलो हप्ताभित्र राख्ने गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend