काठमाडौं । नेपाली सेनाका देशभरका विभिन्न युनिट तथा निकायमा दुग्ध विकास संस्थानको प्रशोधित दूध तथा दुग्धजन्य पदार्थ नियमित रूपमा आपूर्ति गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार नेपाली सेनाका ३२ जिल्लास्थित विभिन्न निकाय, युनिट तथा सब–युनिटमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति हुने जनाईएको छ । वार्षिक रूपमा मात्रै ३७ लाख ४१ हजार ५०६ लिटर दूध आपूर्ति हुने सम्झौतामा उल्लेख छ।
यसैगरी, सेनालाई दैनिक ३६५ किलो दही, ३७ किलो पनिर, २१ किलो होल मिल्क पाउडर र १५ किलो चिज आपूर्ति गरिनेछ। वार्षिक आपूर्तितर्फ दही १ लाख ३३ हजार ५२२ किलो, पनिर १३ हजार २४० किलो, होल मिल्क पाउडर ७ हजार ४४१ किलो र चिज ५ हजार २७८ किलो रहनेछ।
दुग्धजन्य पदार्थको नियमित आपूर्तिका लागि भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयका तर्फबाट सहायक रथी सञ्जयकुमार रञ्जित र दुग्ध विकास संस्थानका तर्फबाट महाप्रबन्धक डा. शरणकुमार पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताले नेपाली सेनाका विभिन्न निकायमा आवश्यक पर्ने दूध तथा दुग्धजन्य पदार्थको नियमित र व्यवस्थित आपूर्ति सुनिश्चित गर्नेछ। साथै, स्वदेशी दुग्ध उत्पादनको संस्थागत बजार विस्तारमा समेत यस प्रकारको सम्झौताले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आपूर्ति हुने दुग्धजन्य पदार्थ
| पदार्थ | दैनिक आपूर्ति | वार्षिक आपूर्ति |
|---|---|---|
| प्रशोधित दूध | १०,२५१ लिटर | ३७,४१,५०६ लिटर |
| दही | ३६५ किलो | १,३३,५२२ किलो |
| पनिर | ३७ किलो | १३,२४० किलो |
| होल मिल्क पाउडर | २१ किलो | ७,४४१ किलो |
| चिज | १५ किलो | ५,२७८ किलो |

