काठमाडौं । काठमाडौं महानगरपालिका ले आफ्नो भौगोलिक क्षेत्रलाई ‘सडक सहयोगापेक्षी मानवमुक्त’ घोषणा गरेको छ। महानगरले ‘जो बेसहारा, काठमाडौं महानगरपालिकाको अभिभारा’ भन्ने नारासहित मानवतामूलक अभियानलाई औपचारिक रूपमा अगाडि बढाएको हो।
सोमबार आयोजित कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल ले सडक सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गर्दै अभियानको सफल कार्यान्वयनका लागि नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं र मानव सेवा आश्रम सँग सम्झौता गरेकाे हाे।
सम्झौताअनुसार सडक तथा सार्वजनिक स्थलमा भेटिने सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, संरक्षण र व्यवस्थापन सम्पर्क, समन्वय र एकीकृत प्रणालीमार्फत गरिनेछ। सम्झौतामा महानगरका तर्फबाट सुनिता डङ्गोल, नेपाल प्रहरीका तर्फबाट दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका तर्फबाट ईश्वरराज पौडेल तथा मानव सेवा आश्रमका तर्फबाट रामजी अधिकारी ले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा बोल्दै सुनिता डङ्गोलले काठमाडौंलाई सांस्कृतिक सहर मात्र नभई मानवतामा आधारित सहरका रूपमा स्थापित गर्ने उद्देश्यले यो घोषणा गरिएको बताए ।
पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ ले मानवता प्रवर्द्धनका कार्यमा कुनै कमजोरी हुन नहुने उल्लेख गर्दै सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
महानगरपालिकाले विसं २०७४ देखि मानव सेवा आश्रमसँगको सहकार्यमा सडक सहयोगापेक्षीहरूको उद्धार तथा व्यवस्थापनका लागि वार्षिक औसत करिब दुई करोड रुपैयाँ खर्च गर्दै आएको जनाएको छ।
यसै अवसरमा आनी छोइङ डोल्मा फाउन्डेसन र मानव सेवा आश्रमद्वारा सञ्चालित ‘मेची–महाकाली अभियान’ को समापन घोषणा गरिएको छ। अभियानअन्तर्गत एक सय ९७ जना सहयोगापेक्षी व्यक्तिको उद्धार तथा व्यवस्थापन गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
फाउन्डेसनकी अध्यक्ष आनी छोइङ डोल्मा ले मानवता प्रवर्द्धनका लागि महत्वपूर्ण सम्झौता भएको उल्लेख गर्दै यस दिनलाई आफूले विशेष र पवित्र दिनका रूपमा सम्झने बताए ।
कार्यक्रममा डा भगवान कोइराला, मदनकृष्ण श्रेष्ठ तथा डा गोविन्द टण्डन लगायतले पनि आफ्नो धारणा राखेका थिए । सम्झौताको प्रभावकारी कार्यान्वयन, कार्यक्रम सञ्चालन तथा स्रोत–साधन व्यवस्थापनका लागि सम्बन्धित निकायहरूको सहभागितामा समन्वय समिति गठन गरिने जनाइएको छ।

