२०८३, आश्विन २१ गते

images
  • समाचार
  • वन कर्मचारीमाथि लगाइएका आरोप भ्रामक भएको...

वन कर्मचारीमाथि लगाइएका आरोप भ्रामक भएको डिभिजन वन कार्यालय कैलालीको दाबी

वन कर्मचारीमाथि लगाइएका आरोप भ्रामक भएको डिभिजन वन कार्यालय कैलालीको दाबी

आइतवार, जेठ ३१ २०८३११:३५
आइतवार, जेठ ३१ २०८३११:३५
  • images

    काठमाडौँ । डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनको गडौरो चुरे क्षेत्रमा अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले सडकमा राखिएको टेपो (ठेला) भिरबाट खसालेको भन्ने सामाजिक सञ्जालमा फैलिएको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयले सामाजिक सञ्जालमा प्रचार भएजस्तो घटना नभएको स्पष्ट पारेको छ। कार्यालयका अनुसार उक्त क्षेत्र चुरे संरक्षण क्षेत्रअन्तर्गत पर्ने संवेदनशील वन क्षेत्र हो, जहाँ लामो समयदेखि सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी विभिन्न अस्थायी संरचना तथा अवैध पसल सञ्चालन हुँदै आएका थिए।

    विज्ञप्तिमा उल्लेख भएअनुसार केही महिनाअघि वन प्रशासनले सो क्षेत्रमा रहेका अवैध खोका–छाप्रा हटाउने अभियान सञ्चालन गरेको थियो। सो क्रममा सामाजिक सञ्जालमा देखाइएको टेपो कुनै सञ्चालनमा रहेको सवारी साधन नभई पुरानो फलामे अवशेष (कबाडी सामग्री) मात्र रहेको कार्यालयको दाबी छ।

    कार्यालयका अनुसार उक्त टेपोलाई अतिक्रमण प्रयोजनका लागि वन क्षेत्रमा राखिएको पाइएपछि एक महिनाअघि नै हटाउन निर्देशन दिइएको थियो। निर्देशनपछि सम्बन्धित व्यक्तिले उक्त सामग्री आफ्नो घरसम्म पुर्‍याएको भए पनि पुनः सोही स्थानमा ल्याएर पसल सञ्चालन गर्ने प्रयास गरिएको जनाइएको छ।

    डिभिजन वन कार्यालयले जेठ २९ गते पुनः अतिक्रमण हटाउने अभियान सञ्चालन गर्दा वन टोलीले टेपो हटाउन खोजेको र सो क्रममा भिरालो तथा असमतल भू–भागका कारण टेपो अनियन्त्रित भई भिरबाट खसेको जनाएको छ। वन कर्मचारीले जानाजानी भिरबाट धकेलेको भन्ने आरोप निराधार रहेको कार्यालयको भनाइ छ।

    कार्यालयले वन संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि गरिएका कानुनी कारबाहीलाई अतिरञ्जित र भ्रामक ढंगले प्रस्तुत नगर्न आग्रह गर्दै सत्यतथ्य बुझेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरेको छ।

    डिभिजन वन कार्यालय कैलालीका कर्मचारीहरूले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा वन अतिक्रमणविरुद्धको अभियान निरन्तर जारी रहने उल्लेख गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend