काठमाडौँ । इटालीको लोनाटो डेल गार्दमा “नेपाल टुडेः इन द फरेस्ट, इन द भिलेजेज” शीर्षकको फोटोग्राफी प्रदर्शनी उद्घाटन गरिएको छ। प्रदर्शनीमा नेपाली फोटोग्राफर किशोर शर्मा, उमा विष्ट र सागर क्षेत्रीका चयनित कृतिहरू प्रस्तुत गरिएका छन्। इटालियन क्युरेटर फिलिपो माज्जाको छनोटमा आयोजित प्रदर्शनी आगामी अगस्ट ३०, २०२६ सम्म सर्वसाधारणका लागि खुला रहनेछ।
प्रदर्शनीमा किशोर शर्माको ‘लिभिङ इन द मिस्ट’ फोटो शृंखलाले घुमन्ते राउटे समुदायको जीवनशैली र उनीहरूको अस्तित्व जोगाउने संघर्षलाई केन्द्रमा राखेको छ। छ वर्षको अवधिमा तयार पारिएको यो दस्तावेजीकरणले आधुनिक समाजमा समाहित हुन अस्वीकार गरिरहेका राउटेहरूको स्वायत्त जीवनशैलीलाई उजागर गरेको छ।
त्यस्तै, उमा विष्टको ‘वनका हाम्रा गीत’ शृंखलाले अछामका किशोरीहरूको पीडादायी यथार्थ प्रस्तुत गर्छ। छाउपडी प्रथाका कारण महिनावारीका बेला गोठमा बस्न बाध्य पारिने किशोरीहरूको कथा समेटिएको यो शृंखलाले महिलामाथि हुने विभेद र सामाजिक कुसंस्कारलाई विश्वमञ्चमा पुर्याएको छ।
सागर क्षेत्रीको ‘एक्लिप्स’ फोटो शृंखलाले मधेश र राज्यबीचको जटिल सम्बन्ध, सीमावर्ती क्षेत्रका राजनीतिक प्रश्न तथा पहिचानको संघर्षलाई चित्रण गरेको छ। मधेशी समुदायका अनुभव र उनीहरूको सामाजिक–राजनीतिक यथार्थलाई गहिरो रूपमा प्रस्तुत गरिएको छ।
प्रदर्शनीको परिचयमा क्युरेटर फिलिपो माज्जाले पश्चिमी समाजमा फोटोग्राफीले आफ्नो मूल सामाजिक भूमिका गुमाउँदै गएको प्रश्न उठाउँदै दक्षिणी गोलार्धका फोटोग्राफरहरूले भने अझै पनि आफ्ना सिर्जनामार्फत सामाजिक मुद्दाहरूलाई सशक्त रूपमा उठाइरहेको उल्लेख गरेका छन्।
उनले समकालीन नेपाली फोटोग्राफीलाई लैंगिक समानता, स्मृति, पहिचान, राजनीति, धर्म, संस्कृति र उत्तर–उपनिवेशिक अनुभवजस्ता विषयको गहन अध्ययन गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार वर्तमान नेपाली फोटो कलाकारहरूको पुस्ताले सीमित स्रोतसाधनका बाबजुद पनि शक्तिशाली विषयवस्तु, सिर्जनात्मक ऊर्जा र निर्भीक अभिव्यक्तिका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा आफ्नो अलग पहिचान स्थापित गरिरहेको छ।
प्रदर्शनीको क्याटलग इटालीको प्रतिष्ठित प्रकाशन गृह सिल्भाना एडिटोरियल ले प्रकाशित गरेको छ। यो परियोजनाले इटालियन संस्कृति मन्त्रालयको स्ट्राटेजिया फोटोग्राफिया २०२५ कार्यक्रमअन्तर्गत सहयोग प्राप्त गरेको छ।
इटालीको ब्रेसियास्थित लोनाटो डेल गार्दमा आयोजना गरिएको यो प्रदर्शनीले समकालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक यथार्थलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने महत्वपूर्ण अवसर सिर्जना गरेको आयोजकहरूले बताएका छन्।

