काठमाडौँ । नेपालमा यस वर्ष मनसुन आगमन औसत मितिभन्दा ढिला हुने भएको छ। सामान्यतः जुन १३ (जेठ ३०/असार १ आसपास) मा मनसुन नेपाल भित्रिने गरे पनि यस वर्ष अझै मनसुन सुरु हुन सकेको छैन।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल ले भू–उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन प्रवेश हुन अझै केही दिन लाग्न सक्ने बताउनुभयो।
उहाँका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सहित हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको छ। तर यो वर्षा मनसुन प्रणालीका कारण नभई स्थानीय तथा अन्य मौसमी प्रणालीको प्रभावका कारण भएको विभागले जनाएको छ।
मौसमविद् पोखरेलले हाल प्रशान्त महासागर क्षेत्रमा एलनिनो विकसित भइसकेको र थप बलियो बन्दै गएको बताउनुभयो। एलनिनोका कारण दक्षिण एसियाली मनसुन प्रणाली प्रभावित हुने तथा नेपालको मनसुन आगमन ढिला र कमजोर हुनसक्ने सम्भावना रहेको उहाँको भनाइ छ।
विभागका अनुसार विगतमा पनि सन् १९७२, १९८२, १९८३, १९८७, १९९२, १९९७, २००२, २००९, २०१६, २०१९ र २०२३ मा मनसुन निर्धारित समयभन्दा ढिला प्रवेश गरेको थियो।
मौसमविद्हरूले मनसुनको औपचारिक घोषणा गर्न पूर्वी नेपालबाट पर्याप्त वर्षासहित मनसुन प्रणाली विस्तार हुनुपर्ने भएकाले आगामी केही दिन मौसमको अवस्थालाई निरन्तर निगरानी गरिने बताएका छन्।

