२०८३, आश्विन २१ गते

images
  • समाचार
  • अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ असार...

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ असार ६ र ७ गते काठमाडौंमा हुँदै

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ असार ६ र ७ गते काठमाडौंमा हुँदै

बिहिवार, आषाढ ४ २०८३०६:१८
बिहिवार, आषाढ ४ २०८३०६:१८
  • images

    काठमाडौं। महिला नेतृत्व, आर्थिक आत्मनिर्भरता र सहकारीमार्फत समृद्धिको सन्देश फैलाउने उद्देश्यसहित ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६’ काठमाडौंमा आयोजना हुने भएको छ।

    राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले असार ६ र ७ गते (जुन २०–२१) ललितपुरस्थित हेरिटेज गार्डेनमा ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित सम्मेलन आयोजना गर्न लागेको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

    महासंघका अनुसार संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ घोषणा गरेको सन्दर्भमा सम्मेलनको विशेष महत्व रहेको छ। सम्मेलनले सहकारी क्षेत्रमा महिलाको नेतृत्व, कृषि उत्पादनमा उनीहरूको योगदान तथा आर्थिक सशक्तीकरणका अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने लक्ष्य राखेको छ।

    नेपालमा सञ्चालनमा रहेका ३२ हजारभन्दा बढी सहकारी संस्थामा करिब ५६ प्रतिशत महिलाको सक्रिय सहभागिता रहेको महासंघले जनाएको छ। विशेषगरी कृषि, पशुपालन, घरेलु उद्योग, हस्तकला तथा साना उद्यममार्फत महिलाहरूले ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।

    सम्मेलनमा महिला किसान तथा सहकारीकर्मीको योगदानलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने, लैंगिक उत्तरदायी नीति तथा अभ्यासलाई सुदृढ बनाउने, महिला नेतृत्व विकास गर्ने तथा अन्तर्राष्ट्रिय असल अभ्यासको आदानप्रदान गर्ने विषयमा विशेष छलफल हुने जनाइएको छ।

    कार्यक्रमअन्तर्गत नीति संवाद, कार्यपत्र प्रस्तुति, महिला सहकारीद्वारा उत्पादित वस्तुको प्रदर्शनी, उत्कृष्ट महिला सहकारी उद्यमी सम्मान, सहकारी अवलोकन भ्रमण, सांस्कृतिक कार्यक्रम तथा विश्व सम्पदा अवलोकन लगायतका गतिविधि सञ्चालन गरिनेछ।

    भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयसँगको सहकार्यमा आयोजना हुने सम्मेलनमा राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, साना किसान विकास लघुवित्त संस्था, आईएलओ नेपाल कन्ट्री अफिस तथा हेफर इन्टरनेशनल सह–आयोजकका रूपमा रहनेछन्।

    महासंघले विभिन्न देशका सहकारी अभियन्ता, महिला उद्यमी, नीति निर्माता, विकास साझेदार, सञ्चारकर्मी तथा सहकारी प्रतिनिधिहरूको सहभागिता रहने जनाएको छ।

    सम्मेलनको समापनमा ‘काठमाडौं घोषणापत्र–२०२६’ जारी गरिनेछ। उक्त घोषणापत्रले सहकारीमार्फत महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता, सामाजिक समावेशीकरण तथा दिगो कृषि प्रणाली प्रवर्द्धनका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

    महासंघले सम्मेलनलाई नेपालमा महिला नेतृत्व र सहकारी विकाससम्बन्धी अन्तर्राष्ट्रिय संवादको महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण सरोकारवालालाई सहभागिताका लागि आह्वान गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend