२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बढ्दो पर्यटक चापसँगै पोखराको पर्यटन व्यवस्थापन...

बढ्दो पर्यटक चापसँगै पोखराको पर्यटन व्यवस्थापन सुधार्न सरोकारवालाबीच छलफल

बढ्दो पर्यटक चापसँगै पोखराको पर्यटन व्यवस्थापन सुधार्न सरोकारवालाबीच छलफल

शुक्रवार, आषाढ ५ २०८३११:३९
शुक्रवार, आषाढ ५ २०८३११:३९
  • images

    काठमाडौँ । पछिल्लो समय भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेसँगै पर्यटकीय राजधानी पोखराको पर्यटन व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउने उद्देश्यले उद्योग तथा पर्यटन मन्त्रालयले सरोकारवाला निकायहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ।

    नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित पोखरा पछिल्ला महिनाहरूमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको छ। विशेषगरी भारतीय पर्यटकको संख्या बढेसँगै होटल, रेष्टुरेन्ट, यातायात तथा अन्य पर्यटन व्यवसायमा सकारात्मक प्रभाव देखिएको छ। तर पर्यटकको बढ्दो चापसँगै ट्राफिक व्यवस्थापन, पार्किङ, सुरक्षा तथा सूचना प्रवाहजस्ता क्षेत्रमा चुनौतीहरू पनि थपिएका छन्।

    यही अवस्थालाई मध्यनजर गर्दै आयोजित छलफल कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले पोखराको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको बनाउन सरोकारवालाबीच भएको छलफल परिणाममुखी रहेको बताइन्। उनले प्राप्त सुझावका आधारमा ठोस कार्ययोजना निर्माण गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन्।

    छलफलका क्रममा पर्यटकको आतिथ्यता, सेवा प्रवाह, सुरक्षा व्यवस्थापन तथा ट्राफिक नियन्त्रणलाई आधुनिक प्रविधिसँग जोड्ने विषयमा विशेष जोड दिइएको थियो। लेकसाइड, ड्यामसाइड र पृथ्वीचोक क्षेत्रमा पार्किङ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषय पनि प्राथमिकताका साथ उठाइएको थियो। पर्यटकका सवारी साधनका लागि पर्याप्त पार्किङ उपलब्ध गराउन स्थानीय संघसंस्था, समाजघर तथा निजी क्षेत्रका पार्टी प्यालेसहरूसँग समन्वय गर्ने विषयमा सहमति जुटाइएको छ।

    गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्लेका अनुसार लेकसाइड र ड्यामसाइड क्षेत्रमा तत्काल सिसिटिभी, एएनपीआर ९अटोमेटिक नम्बर प्लेट रिडर० तथा फेस रिडर क्यामेरा जडान गर्न आवश्यक रहेको छ। यसले पर्यटक सुरक्षासँगै ट्राफिक निगरानीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

    त्यसैगरी, पोखरा तथा मुक्तिनाथ क्षेत्रमा धार्मिक पर्यटकका लागि विश्राम गृह निर्माण, पर्यटन सूचना केन्द्र स्थापना तथा सहायता कक्ष सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले पर्यटकको सहज यात्राका लागि रुट परमिट तथा सवारी कागजातको प्रभावकारी परीक्षण, सूचना प्रवाह प्रणाली सुदृढीकरण र आपत्कालीन सहायता सेवाको विस्तार आवश्यक रहेको बताए।

    नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले सामाजिक सञ्जालमा पोखराबारे फैलिने नकारात्मक सामग्रीको प्रभावलाई कम गर्न सकारात्मक सन्देशमूलक सामग्री निर्माण र प्रचार–प्रसारलाई प्राथमिकता दिनुपर्ने बताए। उनले पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, धार्मिक गन्तव्य तथा आतिथ्यतालाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

    कार्यक्रममा पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराई, पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष बच्चुराम तिवारी, प्रथम उपाध्यक्ष हरि भुजेल, होटल संघ पोखराका कोषाध्यक्ष नेत्र पौडेल, होटल प्रतिनिधि समाजका अध्यक्ष माधव लम्साल, पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष मोती श्रेष्ठलगायत पर्यटन क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

    छलफलले पर्यटन व्यवस्थापन, ट्राफिक सुधार, पार्किङ सुविधा विस्तार, सुरक्षा प्रवर्द्धन तथा पर्यटकमैत्री वातावरण निर्माणका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने निष्कर्ष निकालेको छ।

    पर्यटक आगमनमा आएको वृद्धिले पोखराको पर्यटन उद्योगलाई नयाँ ऊर्जा दिएको छ। तर दीर्घकालीन रूपमा पर्यटनलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन पूर्वाधार विकास, आधुनिक प्रविधिको प्रयोग तथा प्रभावकारी व्यवस्थापन अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्। हालको छलफलले पोखरालाई अझ सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको विश्वास गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend