काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको “चेम्बर एक्स्पो २०२५” काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारदेखि शुरु हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर एआई प्रोजेक्टसहित आठौँ नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
चेम्बर मेलामा स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको हो ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाई छ ।
चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाइल्यान्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरूमा उत्पादित वस्तुहरूको प्रदर्शनी र व्यवसायीहरूले सहभागिता जनाउनेछन् ।
स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरू एक्स्पोमा राखिने छन् । ५ दिनसम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताए । चेम्बर मेलामा ब्युटी पार्टनरको रूपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रूपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरको रूपमा वल्र्ड लिङक, तथा एजुकेशन पार्टनरका रूपमा सफ्टवेरिका कलेज सनवे कलेज रहेका छन् ।
अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालीले उल्लेख गरेको छ ।

