२०८३, आश्विन २३ गते

images
  • अर्थतन्त्र
  • अमेरिकी परियोजना स्थगित भएको भन्दै यूएसएआईडीले...

अमेरिकी परियोजना स्थगित भएको भन्दै यूएसएआईडीले लेख्यो अर्थलाई पत्र

अमेरिकी परियोजना स्थगित भएको भन्दै यूएसएआईडीले लेख्यो अर्थलाई पत्र

सोमवार, माघ १४ २०८१०५:४१
सोमवार, माघ १४ २०८१०५:४१
  • images

    काठमाडौं । अमेरिकाले ९० दिनका लागि विदेशी अनुदान स्थगित गर्ने निर्णय गरेसँगै अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले नेपालमा सञ्चालित सबै परियोजना स्थगन गर्न पत्र पठाएको छ । यूएसएआईडीले अर्थ मन्त्रालयलाई पनि पत्र लेखेर अनुदानमा सञ्चालित सबै कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिएको छ ।

    पत्रमा यूएसएआईडी र नेपालको सम्झौताअनुसार सञ्चालित स्वास्थ्य, शिक्षा, कृषि र समावेशी नीतिसहित मुख्यतः चार क्षेत्रका कार्यक्रम तत्काल निलम्बित भएको उल्लेख छ । पत्रमार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयनका लागि अहिलेलाई ९० दिनका लागि अनुदान निलम्बन गरिएको जानकारी दिए पनि पनि त्यसपछि के हुन्छ भन्ने उल्लेख छैन ।

    गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले यूएसएआईडीले पठाएको विदेशी सहायता स्थगन सम्बन्धी पत्र प्राप्त गरेको जानकारी दिए । पत्रमा ९० दिनका लागि सबै कार्यक्रम रोक्न भनिएको छ । यसले नेपालमा अमेरिकी अनुदानका परियोजना सञ्चालन गरिरहेका झन्डै ४ सय संस्था प्रभावित हुने महासचिव सुवेदीले जानकारी दिए । यसबाट स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तनका कार्यक्रम प्रभावित हुनेछन् ।

    अमेरिकामा नयाँ सरकार आउँदा अघिल्ला कार्यक्रमहरूको लगानीमा प्रभावकारिता हेर्नु स्वाभाविक भएको र पत्रमा कार्यक्रमहरू खारेज नभनी स्थगित भनेकाले पछि अनुदानले निरन्तरता पाउने सम्भावना रहेको अध्यक्ष सुवेदीको भनाइ छ ।

    यूएसएआईडीको पत्रमा तालिम, सामान किनमेल, समुदायका लागि सञ्चालित कार्यक्रम लगायत स्थगन गर्न भनिएको छ । राष्ट्रपतिमा डनल्ड ट्रम्पले पद सम्हाले लगत्तै अमेरिकाले तत्कालका लागि वैदेशिक अनुदान रोक्ने निर्णय गरेपछि विश्वभर नै तरंग उत्पन्न भएको छ । अब ९० दिनको समीक्षापछि अनुदान स्थगन गर्ने वा निरन्तरता दिने भन्ने विषय अमेरिकी सरकारले टुंगो लगाउने छ । अमेरिकाले सन् २०२३ मा ७२ अर्ब डलर वैदेशिक अनुदानमा खर्च गरेको थियो ।

    अमेरिकाले नेपाललाई बजेटमा समावेश हुने गरी (बजेटरी) र बजेटभन्दा बाहिर खर्च गर्ने गरी (गैरबजेटरी) माध्यमबाट अनुदान दिँदै आएको छ  । धेरै अनुदान यूएसएआईडीमार्फत आउने गर्छ ।

    नेपालमा पूर्वाधारसम्बन्धी कार्यक्रमका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत आइरहेको अनुदान छुट्टै हो । अमेरिकाबाट प्राप्त अनुदान नेपालमा सुशासन, मानव विकास, विपद् सुरक्षण तथा पूर्वतयारी, पूर्वाधार निर्माण, शिक्षा तथा स्वास्थ्य र जनसंख्या क्षेत्रअन्तर्गत मातृ तथा शिशु स्वास्थ्य र परिवार नियोजन, एचआईभी एड्स, पानी आपूर्ति तथा सरसफाइ, आधारभूत स्वास्थ्यलगायत क्षेत्रमा प्रयोग हुँदै आएको छ ।

    देशको वित्तीय सुधार, प्रशासन सुधारलगायत क्षेत्रमा पनि अमेरिकी अनुदान खर्च हुँदै आएको छ । कृषि क्षेत्रतर्फ कृषि नीति तथा प्रशासन व्यवस्थापनमा अमेरिकी अनुदानको ठूलो रकम उपयोग भइरहेको छ ।

    USAID र नेपाल सरकारबीच ०५ मे २०२२ मा हस्ताक्षरित Development Objective Agreement (DOAG) मार्फत  नेपाललाई प्राप्त भएको अनुदान सहायता मध्ये बजेट प्रणाली मार्फत सर्वसंचित कोषबाट भुक्तानी हुने प्रकृतिका (On-Budget On-Treasury) चार वटा आयोजनाहरु क्रमशः USAID Health Direct Financing Project, USAID Agricultural  Direct Financing Project, USAID Education Direct Financing Project र USAID Inclusive Policy Direct Financing Project  मा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थागित भएको USAID नेपालले पत्रमार्फत जानकारी गराएको छ। 
    यस ९० दिनको अवधिमा स्थगित भएका आयोजना अन्तर्गत USAID श्रोततर्फ कुनै दायित्व श्रृजना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराईएको छ।
     
    महेश भट्टराई
    सहसचिव / प्रवक्ता
    मितिः २०८१/१०/१४

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend