काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र विस्तार गर्ने कार्यको सुरुआत गरेको छ ।
पहिलो चरणमा मधेश प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयअनुसार यही फागुन २० गते भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरी र मन्त्रालयबीच सम्झौतामा हस्ताक्षर भई जग्गा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
यसै क्रममा, साउदी सरकारबाट बहुउद्देश्यीय पोलीटेक्निकल इन्स्टिच्युट (व्यावसायिक प्रशिक्षण केन्द्र) स्थापनाका लागि प्रारम्भिक पूर्वाधार निर्माण गर्न प्राप्त १० लाख अमेरिकी डलर आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको प्राविधिक सहयोगमा महोत्तरीको बलवा नगरपालिकामा बहुउद्देश्यीय व्यावसायिक प्रशिक्षण केन्द्र स्थापनाको प्रक्रिया प्रारम्भ भएको छ ।
मन्त्रालयले प्रतिष्ठान मातहतका विभिन्न व्यावसायिक प्रशिक्षण केन्द्रमार्फत श्रम बजार लक्षित विभिन्न सीपमूलक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।
श्रम बजार लक्षित दक्ष तथा सीपयुक्त जनशक्ति उत्पादन र आपसी हित प्रवद्र्धन गर्ने उद्देश्यले मन्त्रालयले प्रमुख श्रम गन्तव्य मुलुकहरूसँग द्विपक्षीय संवाद र समन्वयलाई निरन्तर अघि बढाएको विज्ञप्तिमार्फत जनाएको छ ।
साथै मन्त्रालयको नीति निर्देशनमा रही प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्रहरू प्राथमिकताका साथ विस्तार गर्ने लक्ष्य राखेको छ । यसले श्रम बजारको मागअनुसार सीपयुक्त मानव संसाधन उत्पादन गर्दै आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर वृद्धि गर्न कोशेढुंगा सावित हुने बताईएको छ ।
प्रतिष्ठान यस कार्यलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, उद्योग संघसंस्था तथा स्थानीय समुदायहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिष्ठानका कार्यकारी निर्देशक रमेशकुमार बखतीले प्रतिवद्धता व्यक्त गरे ।

