काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले भक्तपुरको घ्याम्पेडाँडामा लक्जरी रिसोर्ट निर्माणको थालनी गरेका छन्। करिब ६ अर्ब रुपैयाँको लगानीमा बन्न लागेको यो “स्वनिगस् रिसोर्ट” नेपालमा उच्चस्तरीय पर्यटन आकर्षणको नयाँ युग सुरु गर्ने विश्वास गरिएको छ।
अष्ट्रेलियाको प्रतिष्ठित मेलवर्न इन्सिच्युट अफ टेक्नोलोजी (एमआइटी) का संस्थापक समेत रहेका घलेले समिट होटलका संस्थापक अमृतरत्न शाक्यसँग सहकार्य गर्दै यो परियोजनाको नेतृत्व लिएका हुन्। रिसोर्ट निर्माणका लागि नयाँ वर्ष २०८२ को पहिलो दिन भूमि पूजा गर्दै शुभारम्भ गरिन लागेकाे हाे ।
रिसोर्टका अध्यक्ष घले छन् भने यसका निर्देशकहरुमा शाक्य, जमुना घले गुरुङ र सुवर्ण कृष्ण श्रेष्ठ छन् । जमुना शेषकी श्रीमती हुन भने सुवर्ण शाक्यको आईईजीका साझेदार हुन् ।
नेवारी भाषामा “स्वनिगस्” भन्नाले काठमाडौं, भक्तपुर र ललितपुरलाई जनाइन्छ। रिसोर्टको स्थानबाट यी तीनवटै सहर देख्न सकिने भएकाले उक्त नाम दिइएको हो। करिब १ सय रोपनी जमिनमा निर्माण हुने रिसोर्टमा ६० भिल्लाहरू रहने छन्, जसले पर्यटकलाई शान्त वातावरणमा लक्जरी अनुभव दिनेछ।
रिसोर्टमा वेलनेस, योगा, साइक्लिङ, हाइकिङ, सांस्कृतिक कार्यक्रम र सेमिनार जस्ता गतिविधिहरूको समावेश गरिनेछ। नेपाली कला, संस्कृति, संगीत र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजाइन गरिने रिसोर्टले स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा रोजगारी र अवसर प्रदान गर्नेछ।
रिसोर्टको व्यवस्थापनका लागि नामी अन्तर्राष्ट्रिय होटल चेनहरूसँग छलफल भइरहेको छ। उत्कृष्ट डिजाइन प्रतिस्पर्धामार्फत व्यवस्थापक छानिनेछ, जसले नेपालको पर्यटन सेवा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनेछ।

