काठमाडौँ । नेपाली पाइलटहरुको छाता संगठनको रुपमा पाइलट एसोसिएशन अफ नेपाल गठन गरिएको छ । बुद्ध एयरमा कार्यरत क्यापटेन लेखनाथ पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय एशोसिएसन गठन भएको हो ।
शनिबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले औपचारिक रुपमा पाइलट एशोसिएन नेपाल (प्यान) को घोषणा गरे । नव गठित प्यानको उपाध्यक्षमा क्यापटेन सागर गजुरेल, महासचिवमा दिनेश बोगटी, कोषाध्यक्षमा विक्रान्त काफ्ले र सचिवमा नाजिर उदेन शेख छन् ।
यस्तै, सदस्यमा रविन्द्र डंगोल, सुरज भण्डारी, मेनित केसी, शिव पौडेल, अभिनन्दन खड्का, किस्मत पछाई छन् ।
शनिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रुपमा पाइलट एशोसिएसन सञ्चालनमा आएको घोषणा गरिएको हो । धेरै वर्षअघि पाइटलको हक हितका लागि भन्दै केही पाइलट मिलेर छुट्टै संस्था दर्ता गरेतापनि उक्त संस्था हाल याक्टिभ छैन् ।
धेरै नेपाली क्यापटेनहरु नेपालका विभिन्न वायुसेवा कम्पनीमा कार्यरत भएतापनि पाइलटको हकहितका लागि आवाज उठाउने संस्था नभएपछि पोख्रेलको अध्यक्षतामा नयाँ संस्था गठन गरिएको हो ।
अध्यक्ष पोख्रेलले नव गठित संस्था पाइलटको हकहितमा केन्द्रीत रहने बताए । उनले अहिलेसम्म पाइलटको आवाज उठाउने कुनै पनि संस्था नभएको भन्दै आफ्नो हकहितका साथै उडान सुरक्षा लगायतका विषयमा काम गर्ने बताए ।

