काठमाडौँ । नेपाल पर्यटन बोर्डले शनिबार ललितपुरको होटल हिमालयमा आयोजना गरेको ‘डिजिटल युगमा नेपाली पर्यटनमा महिला’ विषयक अन्तक्र्रियामा प्रविधिको तीव्र विकास सँगसँगै नेपालको पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक रहेको औंल्याएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेसहित पर्यटन क्षेत्रमा क्रियाशील महिला उद्यमी, सरकारी निकायका अधिकारी, योजनाकारदेखि पर्वतारोहीसम्मको सहभागी रहेको अन्तक्र्रियामा बोल्ने वक्ताहरुले ‘डिजिटल युगमा महिला उद्यमशीलता नै पर्यटनको मेरुदण्ड बन्ने’ बताएका हुन् ।
पर्यटनमन्त्री पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘पर्यटन क्षेत्रमा महिला उद्यमशीलता अब हाम्रो प्राथमिकताको विषय हो। नीति तथा कार्यक्रममार्फत यसलाई स्थापित गर्न प्रतिबद्ध छौं। गाउँमा रहेका महिलालाई डिजिटल साक्षरतामा लैजाँदा हाम्रो अर्थतन्त्रको मेरुदण्ड पर्यटन बन्न सक्छ ।’
उनले निजी क्षेत्र र सरकारी संयन्त्रमा विश्वासको वातावरण बनाउनु आवश्यक रहेको बताए। मन्त्री पाण्डले थपे, ‘हामीले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न नसकेको अवस्थामा सरकारले एक्लैले सबैथोक गर्नसक्ने अवस्था छैन् । त्यसकारण निजी क्षेत्र र सरकारी संयन्त्रबीच विश्वासको वातावरण बनाउन आवश्यक छ ।’
योजना आयोगकी सदस्य गीता कुमारी पौडेल अधिकारीले पर्यटन र प्रविधिको संयोजनबारे पर्यटन क्षेत्रमा लागेका महिलाहरुलाई सशक्तिकरण गर्नुपर्ने बताएकी छन् । उनले भनिन्, ‘१६औं योजनामा पर्यटन र प्रविधिको संयोजनलाई प्राथमिकता दिइएको छ। डिजिटल पहुँच अझै ३० प्रतिशत नागरिकसम्म पुगेको छैन, यसमा महिलाको पहुँच झनै कम छ ।’
उनले नीति निर्माणमै लैङ्गिक समानताका सवालमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै थपिन्, “हामीले नीति निर्माण गर्दा महिलालाई प्राथमिकतामा राखेर उनीहरुको वित्तिय पहुँच पनि स्थापित गर्न उत्तिकै जरुरी छ ।
कार्यक्रममा सहभागी पाहुनालाई स्वागत गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा महिलाहरुको संख्यात्मक वृद्धि भए पनि यसलाई गुणस्तर र परिमाणमुखी बनाउनुपर्ने बताएका छन् । उनले भने, ‘नेपालको पर्यटन क्षेत्रमा करिब ५० प्रतिशतभन्दा बढी महिला सहभागिता रहेको छ । यद्पि उनीहरुलाई विभिन्न तालिम तथा प्रशिक्षण दिने र पर्यटनका विविध आयाममा सहभागिता गराउनुपर्ने देखिन्छ ।’
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतले पर्यटन क्षेत्रमा महिला सभागिता संख्यात्मक हेर्दा धेरै देखिए पनि न्यून ज्याला पाउने काममा मात्र सिमित देखिन्छन् । उनले भनिन्, ‘५४ प्रतिशत महिला पर्यटन क्षेत्रमा भए पनि उनीहरू अझै न्यून पारिश्रमिकमा सीमित छन् । डिजिटल सीप, वित्तीय साक्षरता र ब्राण्डिङका माध्यमबाट उनीहरूलाई नेतृत्वतर्फ लैजानु जरुरी छ ।’
बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले रामप्रसाद सापकोटाले पर्यटन क्षेत्रमा सहभागी भएका महिलाहरुको आत्मनिर्भरतामा सरकारले ध्यान दिनुपर्ने औंल्याएका छन् । उनले भने, ‘पर्यटन क्षेत्रमा करबि ५० प्रतिशतभन्दा बढी महिलाको संलग्नता छ, तर अझै स्वरोजगारको दायरमा र वित्तिय पहुँच पुरुषमा नै केन्द्रित छ । तिनलाई सशक्तिकरण गर्दै नेतृत्वमा ल्याउनु आवश्यक छ ।’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिव लीलाधर अधिकारीले नेपालको पर्यटन प्रतिस्पर्धी क्षेत्र भएकोले डिजिटल साक्षरताको माध्यमबाट महिलाको सहभागिता र नेतृत्व क्षमतामा वृद्धि गर्नुपर्ने बताएका छन् ।
नाटाको जनसम्पर्क समिति प्रमुख युविका भण्डारीले महिलाको सहभागिता बिना पर्यटन क्षेत्रको विकास असम्भवजस्तै भएको बताएकी छन् । उनले भनिन, ‘नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदानमा बढाउन महिलाको सशक्त सहभागिता बिना सम्भव छैन । पर्यटन अब महिलाविना अधुरो छ । प्रविधिको प्रयोग, रचनात्मकता र पहुँचको विस्तारसँगै नेपाली महिलाले पर्यटनको नक्सा फेरिरहेका छन् ।’
खाना पकाउनेदेखि भाडा माझ्नेसम्मका काममा महिलालाई लगाउने गरिएको उल्लेख गर्दै उनले महिला पर्यटनकर्मीहरूका लागि डिजिटल साक्षरता अभियान चलाउनुपर्ने माग गरिन् । उनले थपिन्, ‘इलामदेखि शुक्लाफाँटासम्मका होमस्टेहरूले नेपालको पर्यटनलाई नयाँ परिभाषा दिइरहेका छन्। तर डिजिटल पहुँच बिना महिला पछाडि पर्छन् । यो केवल लैङ्गिक खाडल होइन, यो डिजिटल खाडल हो ।’
महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष निर्मला धमलाले भनिन्, ‘पछिल्लो समय महिलाहरूको सक्रियता बढेको छ। उनीहरूलाई डिजिटल प्रविधिमा दक्ष बनाउनुको अर्को विकल्प छैन । यसका लागि सरकारले आफ्नो नीतिमा नै महिला
पर्यटन उद्यमीलाई अनिवार्य डिजिटल तालिम दिनुपर्ने व्यवस्था गर्नुपर्ने आजको आवश्यकता हो ।’

