२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • काठमाडौं उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३...

काठमाडौं उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

सोमवार, बैशाख ८ २०८२०४:१९
सोमवार, बैशाख ८ २०८२०४:१९
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणका एक अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जिल्ला आयुक्तको कार्यालय काठमाडौँअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेश प्रसाद यादवविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको हो ।

    आयोगले प्राप्त उजुरीका आधारमा यादवको २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्मको सम्पत्ति र आय–व्ययको अनुसन्धान गर्दा निजले वैध आम्दानीको तुलनामा ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसाको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ ।

    अनुसन्धानमा दिनेश यादवले तलबी पारिश्रमिक, भत्ता, नागरिक लगानी कोष, आवास कर्जा, कृषि आम्दानी, सवारी र अचल सम्पत्ति बिक्री, सापटी तथा बैंकको ब्याजबाट कुल २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसाको वैध आय गरेको देखिएको छ।

    तर, सोही अवधिमा उनले घर निर्माण, गहना, जग्गा खरिद, सवारी साधन, शैक्षिक खर्च, ऋण सापटी, सामाजिक खर्चलगायत शीर्षकमा कुल ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसाको खर्च गरेको देखिएको छ ।

    निजको आयभन्दा व्यय अत्यधिक भएको र सो गैरकानूनी रुपमा आर्जन गरिएको सम्पत्ति भएको पुष्टि भएको आयोगले जनाएको छ ।

    त्यसैले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसारको कसुरमा दोषी ठहर गर्दै दफा २०(२) बमोजिम सजाय माग गरिएको छ ।

    यस्तै, सो गैरकानूनी सम्पत्तिबाट आर्जन भएको रकम र त्यसबाट बढाइएको सम्पत्ति दिनेश यादवले आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखेको देखिएको हुँदा अमृता कुमारी यादवलाई पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार ऐन, २०४८ को दफा २९ ‘ख’ बमोजिम प्रतिवादी बनाई सम्पत्ति जफतका लागि मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend