काठमाडौँ । नेपाल शिक्षक महासंघले काठमाडौं आन्दोलनमा सहभागी भएका शिक्षक र विद्यालय कर्मचारीलाई धम्की, सरुवा र राजीनामाको दबाब आइरहेको जनाएको छ। आन्दोलनमा सहभागी भएका शिक्षक र विद्यालय कर्मचारीलाई विद्यालय फर्किएर काम गर्न वा सरुवा र राजीनामा दिन स्थानीय तहबाट सूचना जारी हुन थालेपछि महासंघले विचलित नहुन आग्रह गरेको हो।
स्थानीय तहले पत्राचार गर्न थालेपछि कतिपय शिक्षकहरु विद्यालयमा फर्कन थालेका छन्। शुक्रबार बिहान काठमाडौंको आन्दोलनबाट फर्कनेक्रममा १४ शिक्षक घाइते भएका थिए। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले २६ दिनदेखि आन्दोलन जारी राखेको छ। शनिबार सरकारसँग भएको वार्ता निष्कर्ष बिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अन्तिम धक्का दिन सडक प्रदर्शन अझै बलियो हुन आवश्यक रहेको बताएका छन्। उनले भने, ‘राज्य पक्षसँग अनौपचारिक छलफल चलिरहेका छन् तर अझै ती निष्कर्ष उन्मुख हुन सकेका छैनन्। त्यसैले अन्तिम धक्का दिन सडक प्रदर्शन अझै बलियो हुन आवश्यक छ।’
प्रदर्शनमा उत्रिएका शिक्षकले शनिबार बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। उनीहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपनि प्रहरीले रोकेको थियो। आज पनि ११ बजेबाट आन्दोलन गर्ने कार्यतालिका छ।

