२०८३, आश्विन २२ गते

images
  • समाचार
  • आज पनि शिक्षकको आन्दोलन, महासंघले भन्योः...

आज पनि शिक्षकको आन्दोलन, महासंघले भन्योः भिजिलान्ते पसेर ढुंगामुढा गरी स्थिति भड्काए

आज पनि शिक्षकको आन्दोलन, महासंघले भन्योः भिजिलान्ते पसेर ढुंगामुढा गरी स्थिति भड्काए

सोमवार, बैशाख १५ २०८२०८:०१
सोमवार, बैशाख १५ २०८२०८:०१
  • images

    काठमाडौँ । शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि जारी आन्दोलन आज पनि जारी रहने भएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सधैँझैँ सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा आन्दोलन हुने बताए । 

    आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरूले सोमबार पनि बिजुली बजार क्षेत्रमा आन्दोलन जारी राख्ने भएका हुन्। 

    उनले अझै काठमाडौं नआएका शिक्षकलाई काठमाडौँ आउन पनि आग्रह गरे । विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलित शिक्षकहरुले माग पूरा नभएसम्म घर नफर्किने अडान लिँदै आएका छन् । प्रदर्शनका क्रममा आइतबार झडप समेत भएको थियो । 

    महासंघले ७५ सालदेखि ८० सालसम्म गरेका तीनवटा सहमतिका आधारमा शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आएको छ। सरकारले आफूहरूको माग सम्बोधन नगरेकाले आफूहरू आन्दोलनमा सहभागी भएको शिक्षकहरूले जनाएका छन्।

    शिक्षक महासंघले आइतबार सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरु पसेर ढुङ्गामुढा गरी स्थिति भड्काएको आरोप लगाएको छ।

     ‘यही २०८२ बैशाख १४ गते नेपाल शिक्षक महासङ्घद्वारा गरिएको शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरु पसेर ढुङ्गामुढा गरी स्थिति भड्काउ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक/कर्मचारीमाथि पानीको फोहरा हान्ने, ढुङ्गा हान्ने तथा निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको छ।’  महासंघको विज्ञप्तिमा भनिएको छ, ‘हामी सरकारबाट भएको यो ज्यादतीको घोर निन्दा तथा भर्त्सना गर्दछौं। बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक/कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन्। तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक रहेको छ। हामी सबै घाइते साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। साथै यो घटनामा घाइते भएको सबैको उपचारको जिम्मा लिन सरकारसँग जोडदार माग गर्दछौं।’ 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend