काठमाडौँ । नेपाल पर्यटन विकास व्यवसायी संस्था (एनटीडीइए) को काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारण सभाले अच्युत सिग्देलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा भागवत सिंखडा, सचिवम भरतराज तिमल्सिना, सहसचिव अमित वस्ती, कोषाध्यक्ष राजु थपलिया र सदस्यहरुमा ऋषिराज उपाध्याय, रिदिप श्रेष्ठ, सुनिता भट्टराई र उपदेश कुँवर रहेका छन् ।
कार्यक्रममा उत्कृष्ट हस्तकला व्यवसायीमा परम्परागत उपचार प्रशिक्षक हिमालयन ट्रेडिसनल हिलिङ एन्ड थेरापी सेन्टरका रामशरण नेपाल, उत्कृष्ट पर्यटन यातायात व्यवसायीमा नेपाल अनलाइम भेहिकल सर्भिसका केदारनाथ कट्टेल, उत्कृष्ट पर्यटन रेष्टुरेन्ट व्यवसायीमा रोयल चाइना माउन्टेन रेष्टुरेन्टका विकास थापा, उत्कृष्ट चिया व्यवसायीमा माउन्टेन टी ट्रेडका रामेश्वर महर्जन र उत्कृष्ट पथप्रदर्शक राजकाजी महर्जनले २०८१ सालका लागि उत्कृष्ट व्यवसायीको रुपमा सम्मानित भए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मल्होत्राले पर्यटन क्षेत्रको उत्थानमा निजी क्षेत्रको सधै जोड रहने गरेको बताए ।
उनले थाइल्यान्डको उदाहरण दिँदै पर्यटनमा दिगो विकास गरेर नै थाइल्यान्ड माथि आएको बताउँदै उनले बौद्धमार्गी धेरै रहेका देशबाट लुम्बिनीमा सिधा हवाई सम्पर्क स्थापित हुनुपर्ने बताए ।
भैरहवा र पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि त्यसको सदुपयोग गर्न नसकेको बताउँदै उनले त्रिभुवन विमानस्थलको व्यापाक सुधार गर्नुपर्ने खाँचो औल्याए ।

