काठमाडौँ । भारतले नेपाललाई दैनिक १५ घण्टासम्म विजुली दिन थालेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले मे १ तारिखदेखि भारतले दैनिक १५ घण्टा बिजुली दिएको जनाएको हो ।
केही समय भारतले पर्याप्त बिजुली नदिएपछि औद्योगीक क्षेत्रमा लोडसेडिङ नै सुरु भएको थियो । तर, आजदेखि बिहान २ बजेदेखि साँझ ५ बजेसम्म बिजुली आयात भएको प्राधिकरणले जनाएको हो । यसअघि भारतबाट दैनिक १२ घन्टा बिजुली आयात हुँदै आएको थियो ।
भारतबाट बिहान ६ देखि साँझ ५ बजेसम्म निरन्तर बिजुली आइरहेको प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले बताए। पिकआवरमा भारतबाट बिजुली खरिद गर्दा मागअनुरूप नपाए पनि थप तीन घन्टाले केही सहज हुने उनको भनाइ छ।
भारतले पुरानै सहमतिअनुसार अब निरन्तर ६०० मेगावाट विद्युत् दिने प्रवक्ता शिल्पकारले बताए।
अहिले सुक्खा मौसममा नदीनालाको बहाव कम हुँदा जलाशय र सौर्य ऊर्जासहित आन्तरिक उत्पादन औषत १ हजार १७५ मेगावाट रहेको छ।
हालको उच्च माग ९पिक लोड० २ हजार ७७ मेगावाट र सो समय अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ। नपुग विद्युत भारतबाट आयात गरिँदै आएको छ।

