काठमाडौं । डिजिटल बैंकिङ्ग प्रविधिमा निरन्तर नवप्रवर्तन गर्दै आएको महालक्ष्मी विकास बैंकले नेपालमै पहिलोपटक ‘स्क्यान टु क्यास’ सेवा सुरु गरेको छ। फोन पेको सहकार्यमा ल्याइएको यो सेवा अन्तर बैंक कारोबारमा आधारित नयाँ सुविधा हो, जसअन्तर्गत ग्राहकले कुनै पनि बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी टेलर काउन्टरमा रहेको क्युआर कोड स्क्यान गरेर नगद झिक्न सक्नेछन्। परम्परागत चेक वा एटीएम कार्डको प्रयोग बिना नै बैंक काउण्टरबाट नगद झिक्न मिल्ने यो प्रणाली हाल दरबारमार्ग शाखा र थापाथली शाखामा सुरु गरिएको छ। बैंकले निकट भविष्यमा देशभर यो सेवा विस्तार गर्ने तयारी गरेको जनाएको छ।
महालक्ष्मी विकास बैंकले यसअघि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा अलि पे प्लस नेटवर्कमार्फत क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरु गरिसकेको छ। यस सेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायतका मुलुकका पर्यटकहरूले नेपाल पे क्युआर स्क्यान गरेर आफनो देशको डिजिटल वालेटमार्फत सहज रूपमा नेपालमा भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध भएको छ।
डिजिटल सेवा प्रवर्द्धनमा अघि बढ्दै बैंकले हालै “महालक्ष्मी स्मार्ट साथी” नामक परिष्कृत मोबाइल एपसमेत सार्वजनिक गरेको छ, जसले बैंकिङ्ग सेवा अझ सहज, सुरक्षित र प्रयोगमैत्री बनाउने विश्वास बैंकले लिएको छ। नेपालको डिजिटल भुक्तानी प्रणालीलाई सरल, आधुनिक र पहुँचयोग्य बनाउने उद्देश्यले महालक्ष्मी विकास बैंकको यस कदमलाई बैंकिङ्ग क्षेत्रका विश्लेषकहरूले प्रविधिमैत्री पहलका रूपमा लिएका छन्।

