काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाले खरिद गरेको भनिएको हिलटन होटल बिक्री नै नभएको पाइएको छ ।
देउवाले उक्त होटल खरिद गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना बढ्न थालेपछि होटल व्यवस्थापकले कुनै पनि खरिद बिक्री नभएको स्पष्ट पारेको हो । काठमाडौँको नक्सालमा रहेको उक्त होटल शंकर ग्रुपद्वारा निर्माण गरिएको हो ।
शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहील अग्रवालले होेटल खरिद बिक्री नभएको भन्दै हल्ला भएको कुरा गलत रहेको बताए । उनले आफूहरुले होटल नै बिक्री गर्न नचाहेको उल्लेख गर्दै नकारात्मकता फैलाउने समूहले जयवीर देउवाको नाम जोडेर बदनाम गर्न खोजेको बताए ।
उनले आफूहरुले होटललाई आईपीओमा लैजान लागेको बताउँदै त्यसमा रोक्न चलखेल गर्नेहरुले नै गलत आरोप लगाएको बताए ।
हिलटन होटल काठमाडौंको नक्सालमा सञ्चालनमा रहेको पाँचतारे होटल हो । करिब आठ अर्ब लगानीमा निर्माण गरिएको हिलटन होटलमा एक सय ७४ रुम छन् । अन्तर्राष्ट्रिय चेन होटल हिलटनका १२६ देशमा ब्रान्ड फैलिएको छ ।

