काठमाडौं । तपस्वीका रूपमा चिनिएका रामबहादुर बम्जनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ। जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई थुनामा राख्न आदेश दिएपछि मलंगवा कारागार चलान गरिएको हो।
बम्जनविरुद्ध यसअघि ८ करोड ५९ लाख रुपैयाँबराबरको अवैध सम्पत्ति कारोबार गरेको आरोपमा मुद्दा दायर गरिएको थियो। उनीमाथि विभिन्न देशका मुद्रासहित ठूलो रकम स्रोत नखुलेको आरोप लागेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा अघि बढाएको हो।
२०७९ साल फागुन ५ गते मुद्दा दायर भएको भए पनि त्यसबेला उनी बाल यौन दुर्व्यवहारको कसुरमा जेल सजाय भोगिरहेका थिए। जिल्ला अदालत सर्लाहीले उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो। तर, पछि उच्च अदालत राजविराजले मुद्दा हदम्यादबाहिरको भन्दै खारेज गरिदिएको थियो, जसपछि उनी कारागारमुक्त भएका थिए।
तर, पछिल्लो सोमबार अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको प्रतिवादका लागि उपस्थित भएका उनलाई तत्काल प्राप्त प्रमाणले निर्दोष ठहर गर्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो।
बम्जनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र यौन हिंसाका घटनामा संलग्न भएको आरोपमा पनि जाहेरी दर्ता भएका छन्। २०८० साल पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको बूढानीलकण्ठस्थित घरबाट लामो समय अनुसन्धानपछि उनलाई पक्राउ गरेको थियो।
घर खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र १७ देशका मुद्रामा ३० लाख ९२ हजार रुपैयाँबराबरको रकम बरामद भएको थियो। ती सम्पत्तिको वैधानिक स्रोत खुलाउन नसकेपछि उनीमाथि सम्पत्ति शुद्धीकरण मुद्दा अघि बढाइएको हो।

