काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता समेत रहनुभएका सोडारीलाई प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निलम्बन गरिएको व्यहोरा जानकारी गराएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार सोडारी उपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी प्राप्त भएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्वन गरिएको सभामुख भण्डारीले बताए ।प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब सो पार्टीबाट तीन प्रदेशसभा सदस्य रहनुभएको छ ।
सोडारी विसं २०७९ मा भएको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र–४ को प्रदेशसभामा तत्कालीन गठबन्धनका तर्फबाट प्रत्यक्ष निर्वाचित भएका थिए । तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले)बाट प्रदेशसभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारीको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका थिए ।
सोडारीलाई पदको दुरुपयोग गरेर अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिन अघि आरोपपत्र दायर गरेको थियो ।

