काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा पनि हुने पूर्वानुमान गरिएको छ।
राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा राति समेत भारी वर्षा हुन सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

