काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भदौ २४ गते बोलाएको विशेष साधारणसभा जिल्ला प्रशासन कार्यालयको हस्तक्षेपपछि अन्योलमा परेको छ। नाडाले हालै सम्पन्न ‘नाडा अटो शो–२०२५’ को समापनसँगै संस्थालाई महासंघमा रूपान्तरण गर्ने घोषणा गर्दै विशेष साधारणसभा आह्वान गरेको थियो।
तर, नाडाभित्रको पुरानो विवाद नटुंगिँदै महासंघमा रूपान्तरणको एजेन्डा अघि सारिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ। सो उजुरीका आधारमा प्रशासनले तत्कालका लागि विशेष साधारणसभासम्बन्धी कार्य अगाडि नबढाउन निर्देशन दिएको हो।
प्रशासनको पत्रमा भनिएको छ , “विधान बमोजिम वार्षिक साधारणसभा नबोलाई के–कसरी विशेष साधारणसभा गर्न लागिएको हो ? यसअघि पटक–पटक छलफल भए पनि विवाद किन समाधान भएन ? स्पष्टिकरणसहित सात दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्छ, र अहिलेलाई विशेष साधारणसभा स्थगित गरिनु पर्छ।”
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार, पुरानै विवाद र विधान संशोधन प्रक्रियाको टुंगो नलागीकन विशेष साधारणसभा बोलाइएकाले संस्थालाई छलफलमा बोलाइएको हो। “संस्थाभित्रको विवादबारे स्पष्टतापछि मात्र अन्य निर्णय गरिनेछ,” उनले बताए।
नाडामा लामो समयदेखि गोल्छा र चौधरी घरानाबीचको विवाद उत्कर्षमा पुगेको छ। यही विवादकै कारण अटो क्षेत्रमा दुई ध्रुव बनेका छन् र नयाँ संस्था ‘नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)’ समेत जन्मिएको छ।
विधान संशोधन प्रक्रियामाथि पनि दुवै समूहबीच आरोप–प्रत्यारोप चल्दै आएको छ। चौधरी समूहले विधान संशोधनको प्रक्रिया पूरा भएको र स्वीकृतिका लागि प्रशासनमा पठाइएको दाबी गर्दै आएको छ भने गोल्छा समूहले संशोधन प्रक्रिया नै अपूर्ण रहेको र आफूलाई अन्यायपूर्वक साधारण सदस्यमा घटाइएको दाबी गर्दै आएको छ।
यस्तै, नाइमा गठन भएपछि नाडा महासंघ बन्दै जाने घोषणा गरिएको थियो। तर, पुरानो विवाद समाधान नहुँदै विशेष साधारणसभा बोलाइएकाले अहिले महासंघमा रूपान्तरणको योजना समेत अन्योलमा परेको छ।

