काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभरका यात्रुवाहक तथा मालबाहक सार्वजनिक सवारी साधन अनिश्चित कालका लागि बन्द गर्ने घोषणा गरेको छ।
जेनजी समूहको आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको अशान्त वातावरणका कारण यात्रु र सवारी साधनको सुरक्षा सुनिश्चित नभएसम्म यातायात सेवा बन्द गर्ने निर्णय गरिएको महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
महासंघले आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको दमनको कडा निन्दा गरेको छ। विज्ञप्तिमा दमनका कारण धेरै युवा घाइते भएको उल्लेख गर्दै १९ जना विद्यार्थीको प्रहरीको गोली लागि मृत्यु भएको खबरले महासंघ स्तब्ध भएको उल्लेख छ।
घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारसँग माग गर्दै महासंघले आफ्ना सबै सदस्य संघ, समिति र कम्पनीलाई घाइतेको उपचारमा सहयोग गर्नसमेत अनुरोध गरेको छ।
महासंघका अध्यक्ष विजय बहादुर स्वारले हस्ताक्षर गरेको विज्ञप्तिमा काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको र विभिन्न स्थानमा कर्फ्यु आदेश जारी भएकाले सवारी साधन चलाउन असहज भएको उल्लेख छ।
महासंघले सरकार र आन्दोलनकारी दुवै पक्षलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ। साथै, चाडपर्व नजिकिँदै गर्दा आम यात्रुलाई सहज यात्राको वातावरण बनाउन सरकारलाई उचित शान्ति सुरक्षाको प्रत्याभूति दिन पनि माग गरेको छ।

