काठमाडौँ । बञ्चरेडाँडामा फोहोर फाल्न सहमति जुटेको छ । पाँच दिनदेखि स्थानीयवासीले फोहोर फाल्न रोक लगाएपछि आइतबार सहरी विकासमन्त्री कुलमान घिसिङसहित उच्च सरकारी अधिकारी नुवाकोटको बञ्चरेडाँडा पुगेका थिए । मन्त्री घिसिङले ककनी गाउँपालिका(१ मा रहेको फोहोर फाल्ने स्थानको समेत अवलोकन गरे।
बञ्चरेडाँडा पुगेका मन्त्री घिसिङले सो क्षेत्रमा देखिएका समस्याबारे जानकारी लिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए।
उनका अनुसार मन्त्री घिसिङले फोहोर प्रभावित स्थानीयवासीसँग सरकारी पक्षले विगतमा गरेको माग १५ दिनभित्र पुरा गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्री घिसिङको उक्त प्रतिबद्धतासँगै रोकिएको फोहोर व्यवस्थापन आइतबार मध्यान्हदेखि बञ्चरेडाँडामा फाल्न सुरु गरिएको छ। उपत्यकाको फोहर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोटको पूर्वी भेग बन्ञ्चरेडाँडामा छ। तीन दिन अगाडि सरकार पक्ष र नुवाकोटको बञ्चरेडाँडाका स्थानीय बीचको वार्ता बिना निष्कर्ष स्थगित भएको थियो।
बञ्चरेडाँडाका क्षेत्रका स्थानीयले फोहोर बोकेका गाडीहरू बुधारदेखि रोकेपछि सहरी विकास मन्त्रालयले शुक्रवार छलफलका लागि ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका, धुनिबेसी नगरपालिका तथा स्थानीय सरोकारवालालाई बोलाएको थियो। सरकारी पक्षले पहिलेको लिखित सहमति पालना नगरेको जनाउँदै जनप्रतिनिधि र स्थानीयवासीले सहरी विकास मन्त्री, काठमाडौं महानगरका प्रमुख तथा अर्थ मन्त्रालयका प्रतिनिधिसहितको वार्ताको माग गरेपछि सो छलफल निष्कर्षविहीन भएको थियो।
छलफलमा जनप्रतिनिधि र स्थानीयहरूले विगत २० वर्षदेखिको समस्या समाधान नभएको भन्दै त्यस क्षेत्रका जनताको स्थानान्तरण र विभिन्न समयमा आन्दोलन गरेको भन्दै त्यहाँका स्थानीयलाई लगाइएको सार्वजनिक मुद्दा फिर्ता गरिनुपर्ने माग अघि सारेका छन्।
सरकारी पक्षले पहिले गरेको मागका सम्बन्धमा बेवास्ता गरेको जनाउँदै गत बुधबारदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा रोक लगाएका थिए। बञ्चरेडाँडामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेको समेत फोहोर विसर्जन गरिँदै आएको छ।

