काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीभित्र बढ्दै गएको गुटबन्दीप्रति असन्तोष जनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणालाई एकताका साथ अघि बढ्न आग्रह गरेका छन्।
महामन्त्री राणाले आज बालुवाटारमा आफूनिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको भेला आयोजना गरेपछि त्यसको सन्दर्भमा शाहीले प्रतिक्रिया दिएका हुन्। उनले हालको संवेदनशील राजनीतिक अवस्थामा राष्ट्रवादी शक्ति फुटेर होइन, जुटेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन वा महामन्त्री धवल शम्शेर राणा जो भए पनि, यसरी गुट–उपगुटका भेला तत्काल बन्द गर्नुहोस्। अहिलेको आवश्यकता राष्ट्रवादीहरू एक ढिक्का हुने हो,’ सेतोपाटीसँग कुराकानी गर्दै शाहीले भने, ‘यदि तपाईंहरू मिलेर जान सक्ने अवस्था छैन भने युवाहरूको भविष्य बर्बाद गर्ने अधिकार तपाईंहरूसँग छैन।’
प्रवक्ता शाहीले सामाजिक सञ्जालमार्फत पनि पार्टी नेतृत्वलाई आन्तरिक विवाद र व्यक्तिगत स्वार्थलाई त्यागी राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

