काठमाडौं । सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीको मुद्दाको आज सुनुवाइ हुँदैछ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा तोकिएको साप्ताहिक पेसीअनुसार न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो। अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, आजको पेसीमा यो मुद्दा एक नम्बर इजलासको क्रम संख्या ३ मा राखिएको छ।
यसअघि कात्तिक १३ गते तोकिएको सुनुवाइ जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित गरिएको थियो। त्यसअघि, न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले लामिछाने र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले दुवैलाई एउटै इजलासमा राख्न आदेश दिएको थियो।
लामिछानेले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरैबाट मुद्दा लड्न अनुमति दिनु पर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। अदालतले त्यसबारे जोशीको फाइल पनि सँगसँगै पेश गर्न आदेश दिएको थियो।
सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछानेले आफ्नो भागअनुसारको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेपछि उनले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए।
जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गतेको सुनुवाइमा उनको रिहा सम्बन्धी माग अस्वीकार गरेको थियो।
सुप्रिम सहकारी ठगी प्रकरणमा अभियोजन पक्षले रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरेको छ। लामिछानेले उक्त रकमको चार भागमध्ये आफ्नो भाग २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत दाखिला गरेका छन्।
रविले आफू सहकारीको शेयर सदस्य, सञ्चालक वा ऋणी नभएको दाबी गर्दै, कुनै ऋण नलिएको र वचत अपचलन नगरेको स्पष्ट पारेका छन्।

