२०८३, आश्विन २३ गते

images
  • समाचार
  • रविले बिगो जम्मा गरेर रिहा गर्न...

रविले बिगो जम्मा गरेर रिहा गर्न माग गरेको निवेदनमा सुरु भयो सुनुवाइ

रविले बिगो जम्मा गरेर रिहा गर्न माग गरेको निवेदनमा सुरु भयो सुनुवाइ

बिहिवार, कार्तिक २० २०८२०२:१३
बिहिवार, कार्तिक २० २०८२०२:१३
  • images

    काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा बिगोबापतको रकम धरौटीस्वरूप बुझाएर रिहा हुन माग गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवेदनमा आज उच्च अदालत बुटवलमा सुनुवाइ सुरु भएको छ।

    उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको हो। इजलासको तेस्रो नम्बरमा रहेको यो पेसीमा अघिल्ला दुई मुद्दाको आदेश आइसकेपछि लामिछानेको निवेदनमा सुनुवाइ अघि बढाइएको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

    लामिछानेसँगै यही मुद्दाका सह–अभियुक्त छविलाल जोशीको पनि निवेदन आजकै पेसीमा राखिएको छ। उनीहरू दुवैजना एउटै प्रकृतिको कसुरमा थुनामा रहेका छन्। यसअघि जिल्ला अदालत रुपन्देहीले जोशीलाई थुनामा पठाउने आदेश दिँदै लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको थियो। त्यसपछि दुवैले छुट्टाछुट्टै रूपमा उच्च अदालतमा पुनरावेदन गरेका थिए।

    उच्च अदालतले जोशीलाई थुनामा राख्ने आदेश सदर गर्दै लामिछानेलाई पनि पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो। सो आदेश सर्वोच्च अदालतले पनि सदर गरेपछि लामिछाने हाल कारागारमै छन्। यसअघि उनले बिगोबापतको रकम धरौटीस्वरूप बुझाएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए, तर जिल्ला अदालतले त्यो माग अस्वीकार गरेको थियो। त्यसपछि उनले उच्च अदालतमा पुनः निवेदन दर्ता गराएका हुन्।

    सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। लामिछानेले त्यसको एक हिस्सा बराबर २ करोड ७४ लाख रुपैयाँ बिगोबापतको रकम धरौटीस्वरूप बुझाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend