२०८३, आश्विन २३ गते

images
  • समाचार
  • संसद् पुनर्स्थापनाको पक्षमा कांग्रेसका निवर्तमान सांसदहरूको...

संसद् पुनर्स्थापनाको पक्षमा कांग्रेसका निवर्तमान सांसदहरूको हस्ताक्षर अभियान सुरु

संसद् पुनर्स्थापनाको पक्षमा कांग्रेसका निवर्तमान सांसदहरूको हस्ताक्षर अभियान सुरु

आइतवार, कार्तिक २३ २०८२०३:००
आइतवार, कार्तिक २३ २०८२०३:००
  • images

    काठमाडौं । संसद् पुनर्स्थापनाको पक्षमा नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्। विघटित प्रतिनिधिसभाका सांसदहरूले तयार पारेको हस्ताक्षरको सूची निकट भविष्यमा पार्टीमा बुझाइने बताइएको छ।

    कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले वर्तमान सरकार गठन र संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको थियो। यही निष्कर्षका आधारमा न्यायालयको ढोका ढकढक्याउने उद्देश्यसहित ‘हस्ताक्षर क्याम्पेनिङ’ सुरु गरिएको विघटित सांसद श्यामकुमार घिमिरेले जानकारी दिए।

    उनका अनुसार, कांग्रेसले अहिलेसम्म संसद् पुनर्स्थापनाका लागि अदालतमा जाने वा आगामी निर्वाचनको तयारी गर्ने भन्नेबारे औपचारिक निर्णय गरेको छैन। “बैठकले यो सरकारको गठन र संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भनेको छ। त्यसपछि अब न्यायालयमा किन नजाने भनेर हामीले हस्ताक्षर अभियान सुरु गरेका हौं,” घिमिरेले भने।

    विघटित सांसदहरूले तयार पारेको हस्ताक्षर सूची पार्टी नेतृत्वलाई बुझाइने छ। “हामीले यो सिग्नेचर पार्टीमा बुझाउँछौं,” घिमिरेले थपे, “निर्णय भने पार्टीले नै एकमत भएर गरोस् भन्ने हाम्रो आग्रह हो।”

    यसअघि नेकपा (एमाले)ले पनि संसद् पुनर्स्थापनाको मागसहित हस्ताक्षर अभियान चलाइरहेको छ। प्रतिनिधिसभा गत २७ भदौमा विघटन भएको थियो। त्यसअघि २३ र २४ भदौमा जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपश्चात् राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए। अन्तरिम सरकारले आगामी फागुन २१ गते आम निर्वाचनको मिति तोकेको छ।

    एकातर्फ अन्तरिम सरकार र निर्वाचन आयोग तोकिएको मितिमा निर्वाचन गराउने तयारीमा छन् भने अर्कोतर्फ संसद् विघटन र सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। सर्वोच्चले यसअघि नै १६ वटा निवेदनमाथि कारण देखाउ आदेश जारी गरिसकेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend