काठमाडौं । बाराको सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपको घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–२ का ४० वर्षीय धनबहादुर श्रेष्ठ र जितपुरसिमरा–६ का ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन्। दुबै जना हाल निर्वाचित वडा अध्यक्ष हुन्।
इलाका प्रहरी कार्यालय सिमरामा सम्राट उपाध्यायले किटानी जाहेरी दर्ता गराएका थिए। उनले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरिएको बताएका छन्। प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूको प्रारम्भिक बयान प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यस घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि पक्राउ गरी कारवाहीको माग गर्दै बिहीबार बिहानदेखि स्थानीय युवाहरू सडकमा उत्रिएका छन्। घटना स्थलमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

