काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज दिउँसो २ बजेदेखि मतदान हुने भएको छ । निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूसँग निर्वाचन व्यवस्थापनबारे छलफल गरेपछि मतदानको समय तय गरेको हो ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले उम्मेदवारहरूसँगको छलफलपछि दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार खुलामञ्चमा तोकिएको समयमै मतदान सुरु हुनेछ भने राष्ट्रिय सभागृहमा भने केही समय ढिला हुन सक्नेछ ।
खुलामञ्चमा मतदानका लागि निर्वाचन अधिकृतहरू तयारी अवस्थामा रहेका छन् ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् । मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
कहाँबाट कसले मतदान गर्ने ?
निर्वाचन समितिले प्रदेश तथा प्रतिनिधित्वका आधारमा विभिन्न मतदान केन्द्र तोकेको छ ।
- राष्ट्रिय सभागृह, मतदान केन्द्र ‘क’ — बागमती प्रदेश
- खुलामञ्च, मतदान केन्द्र ‘ख’ — कोशी प्रदेश तथा तराई–मधेस समूह
- हिमाल हल — गण्डकी प्रदेश
- तराई–मधेस हल — मधेश प्रदेश
- पहाड हल — लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि
निर्वाचन समितिले प्रतिनिधिहरूलाई आफूलाई तोकिएको मतदान केन्द्रमा गएर मतदान गर्न आग्रह गरेको छ । मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ ।
यस्तै, मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया यसअघि नै पूरा भइसकेको छ । निर्वाचन समितिले बुधबार साँझ उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको थियो ।
यस महाधिवेशनबाट कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ । मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र मतगणना सकिएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

