काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा रहेको “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” ले भोलिदेखि गर्ने भनिएको नेपाल बन्द र अनिश्चितकालीन आम हड्ताल फिर्ता लिएको छ।
शनिबार बालुवाटारमा सरकार र महाभियानका प्रतिनिधिहरूबीच भएको वार्तापछि यस सहमति भएको हो। वार्तामा महाभियानले प्रस्तुत गरेका २७ बुँदे मागबारे विस्तृत छलफल गरिएको थियो र समाधानका लागि निरन्तर संवाद अघि बढाउने सहमति दुवै पक्षबीच बनेको छ।
सहमति पत्र अनुसार, महाभियानले हालको शान्ति–सुरक्षा अवस्था तथा नागरिक चासोलाई प्राथमिकतामा राख्दै उठाएका मुद्दाहरू सम्बोधन गर्न सरकार निरन्तर वार्ता, छलफल र सहजीकरण प्रक्रियामा रहने प्रतिबद्धता जनाइएको छ।
वार्तामा महाभियानतर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ता विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाईं सहभागी थिए। सरकारतर्फ गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायत उपस्थित थिए।

