काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै अवधारणा पत्र तयार पारेका छन्। आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका उनले एमालेको ११औँ राष्ट्रिय महाधिवेशन (२७–२९ मंसिर, २०८२) छलफलका लागि राजनीतिक तथा सांगठनिक अवधारणा पत्र तयार गरेका हुन्।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सोमबार च्यासलस्थित पार्टी कार्यालय पुगेर ४० पृष्ठ लामो अवधारणा पत्र पार्टी महासचिव शंकर पोखरेललाई बुझाए। पोखरेलको अवधारणा पत्रमा फरक मत राखेकै कारण कसैले पार्टीमा अपमानित या उपेक्षित भएको अनुभूति गर्ने अवस्था सिर्जना हुन नदिने, उपयुक्त विधिद्वारा निर्णय भइसकेपछि निर्णय कार्यान्वयनको प्रत्याभूतिको सुनिश्चित गर्नुपर्ने उल्लेख छ।

